Policy

घडेरीको कति क्षेत्रफल ओगटेर घर बनाउन पाइन्छ ? यस्तो छ भवन निर्माणसम्बन्धि मापदण्ड

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा भवन निर्माण गर्दा कानुनी, वैज्ञानिक, र स्वास्थ्यसम्बन्धी पक्ष समेटेर सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । जसमा सूर्यको प्रकाश, हरियाली, र पार्किङ सुविधाको सुनिश्चिततालाई ध्यानमा राखिएको हुन्छ । आजको लेखमा आवासीय भवन निर्माणमा कति क्षेत्रफल ओगट्न पाइन्छ भन्नेबारे चर्चा गरौं ।

कुनैपनि घडेरीको सबै क्षेत्रफल समेटेर संरचना निर्माण गर्न पाईंदैन । जसका लागि सरकारले बस्ति विकास तथा भवन निर्माण मापदण्ड नै जारी गरेको छ । जसमा भवनले ओगट्न पाउने ग्राउन्ड कभरेज रेसियो, फ्लोर एरिया रेसियो, सेटब्याक र सडक अधिकार क्षेत्र आदि तोकेर नै भवन निर्माण अनुमतीसँग स्पष्ट उल्लेख गरिएको छ । 

house design in nepal ग्राउन्ड कभरेज रेसियो (GCR)

जीसीआर भनेको आफ्नो जग्गामा खाली ठाउँ छाडेर घर निर्माण गर्न निर्धारित अनुपात हो । ठाउँ र जग्गाको क्षेत्रफल अनुसार जीसीआर पनि फरक हुन सक्छ । सामान्यतया घर बनाउँदा जीसीआर न्यूनतम ३० प्रतिशत छोड्नुपर्छ र ७० प्रतिशत क्षेत्रफलमा मात्र घर बनाउन पाइन्छ । 

कोर शहरी क्षेत्रमा (न्युरोड, असन, ठमेल) ८०% सम्म जग्गा ओगट्न पाइन्छ भने, पुरानो घर पुनर्निर्माण गर्दा १००% सम्म जग्गा कभरेज गर्न पाइन्छ । ग्रामीण क्षेत्रमा भने ६०% सम्म मात्र भवन बनाउन पाइन्छ । यद्यपि, स्थानीय तहहरूले आफ्नै नियमहरू बनाउन सक्छन् ।

जग्गाको आकार अनुसार भवन निर्माण सीमाः

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार, २०७२ चैत्र २६ अघि कित्ताकाट भइसकेको ८० वर्गमिटरसम्मको घडेरीमा ९० प्रतिशत, २५० वर्गमिटर भएको घडेरीमा ७० प्रतिशत, र सोभन्दा ठूलो घडेरीमा ६० प्रतिशत क्षेत्रफल मात्र ओगट्न पाइन्छ ।

यदि कसैको घरको लम्बाइ ६० फिट र चौडाइ ३० फिट छ भने सो घरको भुई तलाको क्षेत्रफल १८०० वर्गफिट हुन्छ । यदि कूल घडेरीको लम्बाइ १०० फिट र चौडाइ ६० फिट छ भने उक्त घडेरीको जम्मा क्षेत्रफल ६००० वर्गफिट हुन्छ । यसमा जग्गा उपयोग प्रतिशत गणना गर्दा १८००/६००० = ०.३० आउँछ । यस अनुपातलाई १०० ले गुणा गर्दा ३० प्रतिशत हुन्छ । भवन निर्माण अनुमतिका लागि सेटब्याक, सडक अधिकार क्षेत्र आदिको समेत ध्यान दिनुपर्छ ।

house design in nepal

कति जग्गामा कस्तो घर बनाउन मिल्छ ?

कति क्षेत्रफल जग्गामा कत्रो घर बनाउन पाइन्छ भन्ने कुराको निर्धारण फ्लोर एरिया रेसियो (FAR) ले गर्छ । FAR पनि ठाउँ हेरेर फरक–फरक हुन्छ । धेरैजसो नगरपालिकामा एफएआर १.७५ निर्धारण गरिएको छ । काठमाडौँमा ठाउँ हेरेर २.५, ३.५, ४.५ सम्म तोकिएको छ । ‘मुख्य शहरी क्षेत्र र आवासिय क्षेत्रमा बनाइने घर र भवनका लागि फरक–फरक FAR तोकिएको छ ।

उदाहरणका लागि, यदि १००० वर्गफिट क्षेत्रफल भएको जग्गामा FAR २.५ तोकिएको छ भने, १००० × २.५ = २५०० वर्गफिटको घर बनाउन पाइन्छ । अर्थात्, एक-एक हजार फिटका दुई तला र पाँच सय फिटको आधा तला गरी अढाई तले घर बनाउन सकिन्छ ।

काठमाडौंमा भवनको अधिकतम उचाइ सीमा कति छ ?

आफ्नो जग्गामा चाहेजति उचाइको घर बनाउन पाइँदैन । त्यसका लागि पनि सरकारले निश्चित मापदण्ड तोकेको छ । सोहिअनुसार काठमाडौं महानगरपालिकाभित्र १७ मिटरसम्मको घर बनाउन पाइने व्यवस्था छ । अन्य नगरपालिकाका पनि आ–आफ्नै मापदण्ड रहेका छन् । काठमाडौँ महानगरभित्र १७ मिटरभन्दा अग्लो भवन बनाउनु परेमा फरक मापदण्ड पालना गर्नुपर्छ । अग्लो घर बनाउँदा चारैतिर जग्गा छाड्नेदेखि भवनको डिजाइनसम्म फरक मापदण्ड पालना गर्नुपर्छ । ९.५ फिट उचाइका कोठा बनाउँदा १७ मिटरको मापदण्डभित्र छ तलाको घर बनाउन सकिन्छ । छतमा बनाइने भर्‍याङ छोप्ने ठाउँ बनाउँदा १७ मिटरको मापदण्डभित्र राख्नु पर्दैन । तर, त्यहाँ भर्‍याङ ढाक्ने ठाउँसँगै कोठा वा बाथरुम पनि निकाल्न भने पाइन्न । भर्‍याङ छोप्ने ठाउँसहित अरू कोठा पनि निकाल्ने हो भने १७ मिटरको मापदण्डभित्र रहनुपर्छ ।

काठमाडौं उपत्यका भित्र बिक्रीमा रहेका घरहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It