Tips & Tricks

नयाँ घर किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन्, बन्दै गरेका घर किन्नुका ५ फाइदाहरू

Pinterest LinkedIn Tumblr

यदि तपाईं नयाँ घर किन्ने योजनामा हुनुहुन्छ भने तपाईंको आवश्यकता र सपना पूरा गर्न बन्दै गरेको अर्थात् निर्माणाधीन घर (Under Construction) उत्तम विकल्प हुनसक्छ । जसले तपाईंलाई बजेटमैत्री, लचिलो, र पूर्णत आफ्नो रोजाइको घर निर्माण गर्न मद्दत गर्दछ । यहाँ निर्माणाधीन घर किन्दाका फाइदाहरू विस्तृत रूपमा चर्चा गरिएको छ:

१. कम मूल्यमा घर खरिद गर्ने अवसर

निर्माणाधीन घरमा लगानी गर्दा प्रारम्भिक चरणमै सस्तो मूल्यमा सम्झौता गर्न सकिन्छ । बन्दै गरेको घर खरिद गर्दा निर्माण सम्पन्न घरको तुलनामा १०% देखि ३०% सम्म कम मूल्यमा पाइने सम्भावना हुन्छ । जसले भविष्यमा राम्रो आर्थिक फाइदा दिन सक्छ । यसले विशेष गरी बजेटमैत्री खरिदकर्ताहरूलाई निकै राहत दिन्छ ।

२. भुक्तानी प्रक्रियामा लचकता र सहजता

निर्माणाधीन घर खरिद गर्दा किस्तामा भुक्तानी गर्ने सुविधा पाइन्छ । निर्माण कम्पनी वा ठेकेदारले निश्चित समय अवधि तोकेर किस्ताबन्दी भुक्तानीको व्यवस्था गरिदिन्छन् । यसले तपाईंलाई एकैचोटि ठूलो रकमको व्यवस्था गर्नुपर्ने बाध्यता हटाएर आर्थिक व्यवस्थापन गर्न सजिलो बनाउँछ । हाउजिङको सन्दर्भमा कुरा गर्दा पहिलो चरणमा ४०% रकम बुझाउनु पर्छ, निर्माणको क्रममा थप ३०% बुझाउने, र बाँकी रकम घर पूरा भएपछि भुक्तानी गर्ने व्यवस्था हुन्छ ।

३. डिजाइन, आकार, र साइजमा परिमार्जन गर्न सकिने

बन्दै गरेको घर खरिद गर्दा आफ्नो आवश्यकता र चाहनाअनुसार घरको आन्तरिक डिजाइन, आकार, र साइज परिमार्जन गर्न सकिन्छ । कोठाहरूको आकार परिवर्तन गर्ने, भान्सा र बैठक कोठाको मिलान बनाउने, वा थप सुविधाहरू समावेश गर्ने, आन्तरिक सजावट लगायतका काम गर्न सकिन्छ । तर, यो सम्भावना बाहिरी डिजाइनमा भने उपलब्ध हुँदैन । निर्माणाधीन परियोजनाहरूको बाहिरी स्वरूपलाई तोकिएको डिजाइनअनुसार नै बनाउनुपर्ने हुन्छ ।

४. निर्माणको गुणस्तरमा आफ्नो निगरानी रहने

निर्माणाधीन घर किन्दा घर निर्माणको प्रत्येक चरणहरू आफ्नै निगरानिमा बनाउन सकिन्छ । निर्माण भइसकेका घरहरूमा पिलर कति साइजको छ, निर्माण सामग्री कस्तो प्रयोग भएको छ, ठिक मात्रामा प्रयोग भएको छ वा छैन सो कुराको यकिन हुँदैन । तर निर्माणाधीन घरमा निर्माण सामग्रीको गुणस्तर, पिलर र बिमको साइज, प्लम्बिङ, र विद्युत जडान जस्ता कामहरूको निगरानी आफैं गर्न सकिन्छ । जसले गर्दा घर सुरक्षित, दिगो  र दीर्घकालीन हुन्छ ।

५. लागतभन्दा बढी प्रतिफलको सम्भावना

घर निर्माण अघि बढ्दै जाँदा त्यसको बजार मूल्य पनि क्रमशः बढ्ने सम्भावना रहन्छ । भर्खरै निर्माण भएको घरको मूल्य पुरानो घरको तुलनामा बढि हुन्छ । त्यस्तै घरको डिजाइन घरमा प्रयोग गरिने गुणस्तरीय सामग्री, सजावटले घरको बजार मूल्यमा १५% देखि ३०% सम्म वृद्धि गराउन सक्छ । त्यस्तै निर्माण सम्पन्न भइसकेपछी भाडामा लगाएर पनि मासिक रुपमा राम्रो आम्दानी गर्न सकिन्छ ।

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It