काठमाडौं । तिहार नेपालको दोस्रो ठूलो चाड हो । यमपञ्चकका पाँच दिन मनाइने यस चाडमा फूलमाला र बत्तिहरूको विशेष महत्व हुन्छ । हरेक दिनको छुट्टाछुट्टै पूजा हुने यमपञ्चकको पाँचौ दिन भाइटीका लगाइन्छ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टिका र मखमलीको माला लगाइदिएर दीर्घायु, समृद्धि र सुखद जीवनको कामना गर्दछन् । सप्तरङ्गी टिका र मखमली माला भाइटीकाको मुख्य प्रतीक हुन्, जसले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले गहिरो अर्थ बोकेको छ ।
किन लगाउने सप्तरङ्गी टिका ?
तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा भइरहने भन्ने विश्वास गरिन्छ । धर्मशास्त्रविद्हरू सप्तरङ्गी टीका ७ वटा ग्रहसँग सम्बन्धित रहेको बताउँछन् ।
ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको विशेष महत्त्व हुन्छ । राहु र केतु पनि ग्रह हुन्, तर यी दुई ग्रहले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ । सप्तरङ्गी टीका पनि तिनै ७ वटा ग्रहसँग सम्बन्धित छन् ।
धर्मशास्त्रविद्हरूका अनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् । सप्तरङ्गीको रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, बैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लासको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमङ्गको जनाउ दिने शास्त्रीय मान्यता छ ।
सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । तिहारमा अष्टचिरञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ ।
सप्तरङ्गी टीका लगाउँदा दिदीबहिनीहरूले आफ्ना भाइहरूको शारीरिक, मानसिक, र आध्यात्मिक सन्तुलनको कामना गर्दछन् । यसलाई भाइहरूको जीवनमा आउने समस्याहरूको निवारणको प्रतीकको रूपमा लिइन्छ । प्रत्येक रंगले जीवनको एक पक्षलाई सुधार गर्ने विश्वास गरिन्छ, र सबै रंगहरूको संयोजनले भाइलाई समग्र रूपमा सन्तुलित र सुरक्षित राख्ने मान्यता रहेको छ ।
मखमली र सयपत्रीको महत्वः
भाइटीकाको दिनमा दाजुभाइलाई लगाइदिने मखमली तथा सयपत्री मालाको छुट्टै महत्व छ । पृथ्वीमा धेरै फूल फुल्छन् । तर ती फूलहरूको आयु सीमित हुन्छ । त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्दछ । मखमली फूल कहिले नओइलिने र फूलको रङ्ग कहिल्यै उडेर नजाने भएकोले यसलाई प्रेम, आदर, शुद्धता, दिर्घायु र स्वस्थ जीवनको प्रतीकको रूप मा लिइन्छ ।
फूलहरूको सजावटको परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ । जब भगवान श्रीराम १४ वर्ष वनवास काटेर अयोध्या फर्किएका थिए, त्यो बेला उनको स्वागत पुष्प वर्षामार्फत नै गरिएको थियो । त्यो बेला पनि सयपत्री फूलकै प्रयोग गरिएको थियो ।
यसैगरी नेपालका अधिकांश चाडपर्व अथवा उत्सवको बेला सजावट तथा अतिथिहरुलाई फूलको मालाले स्वागत गर्ने परम्परा छ, त्यो बेला पनि सयपत्री फूल नै प्रयोग गरिन्छ । भनिन्छ, सयपत्री फूलद्वारा जो कोहीको स्वागत गर्नाले उनीहरुको मान-सम्मान बढ्छ । यसैकारण पनि तिहारमा सयपत्री फूलको प्रयोग अत्यधिक हुने गर्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।