काठमाडौं । लोकप्रिय बलिवुड अभिनेता नवाजुद्दिन सिद्दिकीकी पूर्व पत्नी आलिया बस्दै आएको घर खाली गर्नुपर्ने भएको छ । दुबई प्रशासनले समयमा भाडा नतिरेको भन्दै घर खाली गर्न सूचनामार्फत जानकारी गराएको हो ।
छोराछोरीको अध्ययनका लागि दुबईमा बस्दै आएकी आलियाले भाडा तिर्न नसके कानुनी कारबाही गरिने टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ ।
सेप्टेम्बर ७ मा ‘दुबई रेन्टल डिस्प्युट सेन्टर’का केही अधिकारीहरू घर खाली गर्न सूचना लिएर आएका थिए । साथै उनीहरूले आलियासँग २७ हजार १८३ दिरहाम बराबरको रकम माग गरेका छन् । सूचना जारी भएसँगै सहयोगका लागि आलिया दुबईस्थित भारतीय दूतावास पुगेकी छिन् ।
आलिया दुबई घरको सम्झौता नवाजको नाममा होस् भन्ने चाहन्थिन् । नवाजको नाममा सम्झौता भएमा सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुने आलियाले बताएकी थिइन् । त्यसबेला नवाजले घरको भाडा नियमित रुपमा तिर्दै आएको खुलासा गर्दै आलियाले यो समस्या पनि चाँडै हल हुने आशा व्यक्त गरेकी छन् ।
लामो समयको विवादपछि गत मार्चमा नवाज र आलियाले सम्बन्ध बिच्छेद गरेका थिए । गत सुनुवाईमा बम्बइ हाईकोर्टले आलियालाई बच्चाहरूको रेखदेखको जिम्मेवारी दिएको थियो । बच्चाहरूको भविष्यमाथि प्रश्न उठेको हुनाले अदालतले नवाजुद्दिनलाई नियमित रूपमा उनीहरूलाई भत्ता दिन निर्देशन पनि दिएको थियो ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।