काठमाडौं । सङ्घीय सरकारले मोरङको सुनवर्षी-८ कुरेलीमा निर्माण सुरु गरेका विपन्न परिवारलाई सुरक्षित आवास परियोजना अझै सम्पन्न हुन सकेको छैन । ठेकदार र कर्मचारीको कुरा नमिल्दा हालसम्म घर निर्माण हुन नसकेको हो ।
अर्काको जग्गा अधिया, ठेक्का गरेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई सुरक्षित घरमा सार्न विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत २०७६ मा घर निर्माण सुरु गरेको थियो ।
जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् भने २० वटा घर अझै निर्माण भएका छैनन् । घर हस्तान्तरण नहुँदा गत वर्ष ६५ वटा घरको बजेट फ्रिज भयो । चालु वर्ष पनि जनता आवासमा बजेट आउने अवस्था छैन ।
घर निर्माणका लागि प्रति घर ३ लाख ३२ हजार ५ रुपियाँ विनियोजन भएको थियो । घर सम्पन्न नभएकोले पछिल्लो किस्ता भुक्तानी भने रोकिएको छ ।
सम्झौता अनुसार सो क्षेत्रमा २० वटा शौचालय र २० वटा ट्युबवेल सहितका २ कोठे घर निर्माण हुनुपर्ने थियो । तर, हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक बिजुली पुगेको छैन । गहिरो भागमा पैनीको किनारमा घर निर्माण गरिएकाले घरहरू डुबानमा पर्ने गरेका छन् ।
पक्की घर बनेपछि सर्ने आशमा उनीहरूले प्रति परिवार पाँच हजार रुपैयाँ तिरेका छन् । छ/सात पुस्ता अघिदेखि साविकको डाइनिया-४ कुरेलीमा बस्दै आएका उनीहरूको आफ्नो निजी जग्गा छैन ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।