काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथमा पर्ने कुसुन्तीमा अत्याधुनिक पुल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागको स्वीकृति अनुरूप लिफ्ट र शौचालयसहितको अत्याधुनिक अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको हो ।
महानगरपालिकाले एक वर्षअघि नै पुल निर्माण गर्न सहमति माग्दै मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको थियो ।
मन्त्रालयको स्वीकृति पाएसँगै पुल निर्माणका लागि बाटो खुला भएको छ । भने अबको केही दिनभित्रै महानगरपालिकाले पुल निर्माणका लागि टेन्डर आह्वान गर्ने जनाइएको छ ।
कुसुन्तीमा निर्माण हुन लागेको बिरामी, अशक्त, तथा अपांगतामैत्री यो पुल देशकै नमुना पुल हुनेछ ।
सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण कुसुन्ति क्षेत्रमा गत वर्षमा मात्र छ जनाले ज्यान गुमाइसकेका छन् । यसो हुँदा सडक वारपार गर्नका लागि आकाशे पुलको आवश्यकता टड्कारो रहेको महानगरले जनाएको छ ।
यो पुल कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा निर्माण गरिनेछ । आधुनिक शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ । यो ग्लास पारदर्शी हुन्छ ।
करिब चार करोड बराबरको सुरुवाती लागत अनुमान रहेको यो पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।