News

बस्ती डुबानमा परेपछि मर्स्याङ्दीमा २२ करोडको जग्गा अधिग्रहण गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा जग्गा अधिग्रहणका लागि  मुआब्जा निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको बाँधले बस्ती डुबान र कटानमा परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा जग्गा अधिग्रहण गर्न लागिएको हो ।

मानवीय क्षति हुने खतरा देखिएकाले सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।

गत २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहण गर्न लागिएको छ । 

उक्त स्थानमा प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार छ सय ८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको छ । सो क्षेत्रमा अधिग्रहण गरिने  नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गाका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम आवश्यक पर्ने जनाइएको छ । 

जसबाट १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ रुपैयाँ जग्गाका लागि र तीन करोड ९० लाख ९९ हजार तीन सय १५ रुपैयाँ घरटहराका लागि वितरण गरिनेछ ।

प्रशासन कार्यालयले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।

सूचनाअनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको (२०८० साउन २७) मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It