News

स्थानीय सरकारको गुनासोः पूर्वाधार निर्माणमा कमसल सामग्रीको प्रयोग बढ्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । सप्तरीमा विकास पूर्वाधार निर्माणमा कमसल सामग्री प्रयोग भएको स्थानीय सरकारले गुनासो गरेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–२, चनहीस्थित १५ शैय्याकाे प्राथमिक अस्पताल भवन निर्माणका लागि कमसल सामाग्री प्रयोग भएको गुनासो आएको हो ।

रौता कन्ट्रक्सनले अस्पताल निर्माणका लागि साइटमा ल्याइएका निर्माण सामग्री कमसल भएको स्थानीय तथा जनप्रतिनिधिले गुनासो गरेका छन् । 

सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेका काममा ल्याएका बालुवा, गिट्टी, इँटा तीन नम्बरको भएको स्थानीयको भनाइ छ । 

गत आर्थिक वर्षमा १६ करोड बजेटसहित अस्पतालको निर्माण ठेक्का सम्झौता गरिएको थियो । तर निर्माण सुरु गर्न कम्पनीले १० महिना ढिला गर्यो । 

यसै हप्तादेखि निर्माण सुरु भएको अस्पताल भवनमा कमसल सामग्री प्रयोग भएनभएको सम्बन्धमा साइटमा खटाइएका इन्जिनियरसँग जानकारी लिएर सुधार गर्ने रौता कन्ट्रक्सनले जनाएको छ । 

निर्माण स्थल अनुगमन गरी अस्पतालजस्तो संवेदनशील सार्वजनिक भवनमा कमसल सामग्रीले प्रयोग गर्न नदिने वडा नं. ६ का अध्यक्ष सुरजकुमार दासले बताए । 

त्यसैगरी;  एडी स्वताली जेभी बौद्ध काठमाडौँले निर्माण गरिरहेको बिहुल नदीको पुलमा पनि समस्या आएको छ । कम्पनीले कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजसँग १० करोड ५१ लाख ५३ हजार ६८५ रुपैयाँ सम्झौतामा गरेको थियो । 

माटोयुक्त गिट्टी र सिमेन्ट कम राखेर काम गर्दै आएको जानकारी पाएपछि पुल निर्माण स्थल पुगेका वडाध्यक्ष दासले घण्टौंसम्म साइट बन्द गराएका थिए ।

त्यसबाहेक जिल्लाको खडक, शम्भुनाथ, बोदेबरसाइन, डाक्नेश्वरी नगरपालिका, महदेवा, तिलाठी कोइलाडी, रूपनी गाउँपालिकालगायत धेरैजसो स्थानीय तहमा विकासका पूर्वाधारका संरचना निर्माणमा कमसल सामग्री प्रयोग भएको गुनासो छ ।

स्थानीय युवाको खबरदारीले खडक तथा नगरपालिकामा निर्माण भइरहेको अस्पतालको कमसल ढलान भत्काएर पुनः निर्माण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It