काठमाडौं । सोमबार देखि हेटौंडा–काठमाडौं सडकखण्ड बन्द भएको छ । सडक सञ्जाल जीर्ण भएकाले मर्मतको लागि छोटो दूरीका दुवैतर्फका सडक करिब दुई महिनाका लागि बन्द गरिने भएको हो ।
हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौँडाबाट र भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले दुवै बाटो बन्द गरिएको छ ।
वैकल्पिक सडकको रूपमा हेटौँडाबाट काठमाडौंका लागि कुलेखानी–चित्लाङ सडक तथा फर्कँदा कान्तिलोकपथ सडक प्रयोग गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आग्रह गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ–कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पिक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ ।
माघ २४ गते मंगलबार हेटौंडामा मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वमा भएको सर्वपक्षीय छलफलले सो सडकखण्ड मर्मतको लागि बन्द गर्ने निर्णय गरेको थियो ।
हेटौंडा–काठमाण्डौं जोड्ने यस सडकखण्ड अन्य प्रदेशबाट आवतजावत गर्ने सवारीसाधनको पनि प्रमुख मार्ग हो ।
लामो समयसम्म ठेक्का पूरा नगरेको भन्दै दुई महिना भित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई समय दिएर बाटो बन्द गरिएको जनाइएको छ ।
दुई महिनासम्म पनि निर्माण सम्पन्न हुन नसकेमा ठेक्का तोड्ने मुख्यमन्त्री जमकट्टेलले चेतावनी समेत दिएका छन् ।