News

जलविद्युत आयोजनाको अधिग्रहणमा परेका जग्गाधनीले प्रतिरोपनी १४ लाख रुपैयाँ पाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाले संखुवासभामा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको विद्युत आयोजनाले साविक हटिया गाविस ७ मा तीन व्यक्तिको नामको जग्गा अधिग्रहण गर्न लागेको हो । 

अधिग्रहणमा हुनेमा मनबहादुर गुरुङको नाममा रहेको १ हजार ५ सय ५१ वर्गमिटर, पदमबहादुर गुरुङको नाममा रहेको ५ सय ९३ वर्गमिटर र चमेली गुरुङको नाममा रहेको २ हजार ६ सय ४८ वर्गमिटर जग्गा परेका छन् । 

अधिग्रहणमा परेका जग्गाको लागि आयोजनाले प्रतिरोपनी १४ लाख रुपैयाँ मूल्यांकन गरेको छ । केहि समय अघि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरि जग्गा धनीलाई रीतपूर्वक निवेदन दिन आग्रह गरेको थियो । 

१०६१ मेगावाटको अर्ध-जलाशयुक्त जलविद्युत आयोजना अन्तरगत सडक र सुरुङमार्ग सहित २२ किमी पहुँचमार्ग निर्माणका लागि दुई कम्पनीले ठेक्का पाएका छन् । गायत्री प्रोजेक्ट्स लिमिटेड (भारत) र कन्काइ इन्टरनेशनल विल्डर्स प्रालि (नेपाल) ९ अर्ब ९१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।

पहुँचमार्ग निर्माण भएपछि मात्रै मुख्य संरचना निर्माणको काम अघि बढाइने आयोजना पक्षले जनाएको छ । ३३ महिनामा पहुँचमार्ग निर्माणको काम सक्ने लक्ष्य छ ।

कम्पनीले ९ महिनामा विस्तृत अध्ययन सक्ने गरी परामर्शदाताका लागि ठेक्का आवह्वान गरिसकेको छ । हाल मुख्य निर्माण अघिको पूर्व तयारीका कामहरू भइहेको छ ।

आयोजना सम्पन्न गर्न कूल २ सय १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जसमध्ये ५३ अर्ब रुपैयाँ स्थानीय बैंक तथा वित्तिय संस्थाबाट जुटाइनेछ । ६४ अर्ब रुपैयाँ इक्विटी (सेयर) बाट र बाकीँ ९७ अर्ब रुपैयाँ विदेशी लगानी ल्याउने योजना छ ।

हाइड्रो-इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको नेतृत्वमा नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको कर्न्सोटियममा ५३ अर्ब रुपैयाँ लगानी गर्ने समझदारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It