काठमाडौं । नेपाल-भारत सिमा नाका जोड्ने मितेरी पुल सहितको एसियन हाइवे पूर्ण रुपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको डेढ वर्षपछि सिमानामा निर्मित ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै एसियन हाइवे पूर्ण रुपमा आइतबारबाट सञ्चालनमा आएको हो ।
काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका जोड्ने मेची नदीमा निर्मित ५ सय ७५ मिटर लामो ‘मितेरी पुलको आधा भन्दा बढि हिस्सा नेपाली भागमा पर्छ ।
एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गतको एसियाली राजमार्गमा नेपालतर्फ मितेरी पुल र ५ सय मिटरको पहुँच मार्ग मात्रै निर्माण भएको छ ।
नेपाल र भारतका भन्सार अधिकारीहरूले आ-आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर राजमार्गको पुल सञ्चालनको सुरुआत गरेका थिए ।
नेपालका तर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाद्वारा आ-आफ्नो देशको झण्डा फहराउँदै पुलबाट यातायातका साधन प्रवेश अनुमति दिएर पुल सञ्चालनमा ल्याइयो ।
उद्घाटन अघि ठूला मालवाहक सवारीसाधनलाई मात्र पुलबाट ओहोरोदोहोरो गर्ने अनुमति दिइएको थियो । आइतबारदेखि भने सवारीसाधनसहित पैदलयात्रीले पनि नियममा रहि मितेरी पुल प्रयोग गर्न पाउनेछन् । दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए । एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारु १ अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।
पुलको पश्चिमी भागमा ५ सय मिटर एप्रोच सडक बनाउँदा त्यस क्षेत्रमा बसोबास गर्ने ४३ परिवारलाई रू. ३ करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो ।
नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वीनाका हुँदै गरिने व्यापार सहज बन्ने अपेक्षा गरिएको छ । नेपालले पूर्वीनाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशको बन्दरगाहसम्म व्यापार सञ्चालन गर्दै आएको छ ।
यो नाकाबाट बङ्गलादेशको बङ्गलाबन्ध र च्याङ्ग्राबन्ध सीमानाका करिब ५० किलोमिटरभन्दा कम दूरीमा रहेको छ । उक्त पुल सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएको थिए । तर भारतीय पक्षले नै सुरक्षा संवेदनशीलता देखाएर पुल सञ्चालनमा ढिलाइ गरेको हो ।
नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको चापका कारण दुवै देशका नागरिक र व्यवसायीलाई नाका पार गर्न सास्ती थियो । नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएसँगै नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने अपेक्षा गरिएको छ ।