News

चिनियाँ कम्पनिद्वारा अवैध क्रसर उद्योग सञ्चालनमा, नियामक निकाय मौन

Pinterest LinkedIn Tumblr

काठमाडौं । लहानको खुट्टीखोलामा चिनियाँ कम्पनिद्वारा अवैध क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । सो कम्पनिसँग सम्बन्धित कुनैपनि अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा  नभएको कार्यालय स्रोतले जनाएको छ ।

केहि समयअघि लहानको एक स्पेशल अनुगमन टोलीद्वारा लहान नगरपालिका १४ बस्तीपुरको खुट्टीखोलामा चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको स्टोन क्रसर प्लान्टको बारेमा पत्ता लगाएको थियो । अनुगमनका क्रममा क्रसर प्लान्टले क्रसर मापदण्ड पालना नगरेको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत नगरेको पाइएको छ ।

नदीजन्य पदार्थ निकाल्न इआइए अनिवार्य गर्नुपर्ने प्रावधान छ । यद्यपि कम्पनीले खुट्टीखोलामा क्रसर जडान गरेर उपकरण प्रयोग गरी नदीको सामग्री उत्खनन गरिरहेको छ ।

साथै उद्योग दर्ता अनुमती लिन तथा वन क्षेत्रको सीमांकन लागि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन लगायतका मापदण्ड पुरा गरि डिभिजन वन कार्यालयसँग सहमति लिनुपर्छ ।

क्रसर सञ्चालन गर्न मापदण्ड, प्रतिवेदन र कानुनी प्रावधान पनि पूरा गर्नुपर्छ । मापदण्ड पुरा नगरी क्रसर प्लान्ट सञ्चालन गरिरहेको चाइना रेलवे कम्पनीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिमको कमला नदीको पुलदेखि सप्तरीको कञ्चनपुरसम्म निर्माण ठेक्का पाएको छ ।

स्पेशल अनुगमन टोलीका अनुसार कम्पनीले लहान नगरपालिकाको वडा नं १५ स्थित ज्वाई खोल्सी सामुदायिक वन र नगरपालिकाको वडा नं २४ को खेस्राहा क्षेत्रमा एक्साभेटरबाट खुट्टी खो अवैध रुपमा उत्खनन गरेको पाइएको छ । यद्यपि गैरकानूनी गतिबिधीका बाबजुद पनि नियामक निकायले कुनै कदम नउठाएको टोलीको आरोप छ ।

गत वर्ष नगरपालिकाले चाइना रेलवे कम्पनीसँग ४ रुपैयाँ प्रति घनमिटरमा उत्खनन् गर्ने सम्झौता गरेपनि उत्खनन स्थल तोकिएको थिएन । नदीको छेउमा कतै पनि संकलन तथा उत्खनन केन्द्रको बोर्ड राखिएको थिएन । 

नगरपालिकाले खोलाबाट कति परिमाणमा नदीजन्य पदार्थ निकाल्ने भन्ने कुराको सिमांकन नगर्दा  कम्पनीले संरक्षित क्षेत्र र नदीको दुरुपयोग गरिरहेको छ ।

जिल्ला समन्वय समितिका अनुसार नगरपालिका स्तरीय अनुगमन टोलीले तीन दिनअघि गरेको खुट्टीखोला अनुगमनमा सहभागी हुँदा उत्खननमा कानुनी समस्या देखिएको थियो ।

त्यसैगरी धनुषाको कमला नदी र सिरहाको गगन नदीमा पनि चाइना रेलवे कम्पनीले दुरुपयोग गरेको पाइएको छ । विकासको नाममा अनियन्त्रित नदी दोहन हुनुले विनाश निम्त्याउने स्थानीयको भनाइ छ ।

चाइनिज कम्पनी चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कमला-कञ्चनपुर सडक खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८.११ किलोमिटर खण्ड चार लेनको सडकखण्ड निर्माणको ठेक्का पाएको छ । 

त्यस्तै कञ्चनपुर, जन्डोल, वीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरको कुल ३२.६ किलोमिटर  ६ लेनको सडकखण्ड पनि सो कम्पनीले नै गर्ने छ। 

लहान र रुपनीमा अण्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुलसमेत बनाइने छ । सन् २०२३ को अक्टोबरसम्म राजमार्ग निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

ढुंगा गिटी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लेख भएअनुसार  क्रसर सञ्चालन गर्न राजमार्गको राइट अफ वेबाट ५०० मिटर, खोला वा नदी किनारबाट ५०० मिटर दूरी राख्नपर्छ । त्यस्तै; पक्की पुलबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट २०० मिटर, घना बस्तीबाट २ किलोमिटर, चुरे पहाडको फेदीबाट १५०० मिटर टाढाको दूरी कायम गरेर मात्र क्रसर सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It