News

घरजग्गा कारोबारबाट कलंकी मालपोतले उठायो ६१ करोड राजस्व

Pinterest LinkedIn Tumblr

पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवामा भएको छ। भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट पुसमा ३२ सय ५० लिखत पारित भएको छ। पूर्वी नेपालमा पछिल्लो समय धेरै लिखत पारित हुनेमा इनरुवा अघि देखिन्छ। इनरुवा पछि मोरङको बेलवारी मालपोतमा ३०५९ लिखत पारित भएको छ। 

झापाको भद्रपुर मालपोतमा २७५५, बाँकेको नेपालगञ्जमा २४११, धनुषाको जनकपुर मालपोत कार्यालयले २२७६ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

जनकपुर पछि भक्तपुर मालपोतमा २०८५, लगनखेलमा १९६५, काभ्रेमा १७६१ र कलंकी मालपोतमा १६९९ लिखत पारित भएको विभागले जनाएको छ। 

त्यसैगरी, चितवनमा १६७४, मकवानपुरमा १६६६, कलैयामा १४६३, विराटनगरमा १४५६ र दमक मालपोतबाट १४३४ लिखत पारित भएको देखिन्छ। 

पुसमा महोत्तरीको जलेश्वर मालपोतले १३६९, राजविराजमा १३२२, तुलसीपुरमा १२७६, धनगढीमा १२६६, पर्सामा १२५८ लिखत पारित भएको विभागले जनाएको छ। 

यस्तै, सर्लाहीको मलंगवा मालपोतमा १२३९, दाङको घोराहीमा १२३३, कपिलवस्तुको तौलिहवामा ११९२, रुपन्देहीमा ११८१, साँखुमा ११६०, परासीमा १०९२, सिराहामा १०५७ लिखत पारित भएको विभागले जनाएको छ। 

विभागले पुसमा देशभरका मालपोत कार्यालयमा ७० हजार १६८ लिखत पारित भएको जनाएको छ। 

कात्तिकको तुलनामा मंसिरमा लिखत पारित १९ हजार ३२९ ले बढेको थियो। कात्तिकमा ५० हजार ८३ रहेको लिखत पारित मंसिरमा ६९ हजार ४१२ पुगेको थियो। 

मंसिरमा सबैभन्दा धेरै लिखत पारित मोरङको बेलवारी मालपोत कार्यालयले गरेको थियो। बेलवारीले मंसिरमा ३०८७ लिखत पारित गरेको थियो। बेलवारी पछि इनरुवाले ३०४१, भद्रपुरले २५८८, नेपालगञ्जले २५८८, भक्तपुरले २१४७, जनकपुर र लगनखेलले २०४३, काभ्रेले १७३७, कलंकीले १७२०, चितवनले १७००, मकवानपुर १६७२, विराटनगरले १४३४ लिखत पारित गरेका थिए।

पुसमा ३४ हजार ५३ घरजग्गा रोक्का भएका छन्। मंसिरमा यो संख्या ४१ हजार ७० थियो। पुसमा २३ हजार बढी घरजग्गा फुकुवा भएका छन्। अघिल्लो महिना यो संख्या २७ हजार ८५० थियो। 

पुसमा उठ्यो ६ अर्ब ७० करोड राजस्व

तरलता अभावकाबीच पुसमा भने घरजग्गाबाट राज्यले गर्ने आम्दानी घटेको छ। गत कात्तिकमा ओरालो लागेको घरजग्गा कारोबार मंसिरमा उकालो लागेको थियो। मंसिरमा घरजग्गा कारोबारबाट राज्यले सात अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपेयाँमा ओर्लिएको भूमि व्यवस्थापन विभागले जनाएको छ। 

पुसमा सबैभन्दा धेरै राजस्व कलंकी मालपोत कार्यालयले उठाएको छ। कलंकीले ६१ करोड ८८ लाख रुपैयाँ उठाएको छ। कलंकी पछि लगनखेल मालपोतले ५४ करोड ३३ लाख, डिल्लीबजारले ४८ करोड २७ लाख, चाबहिलले ४८ करोड २४ लाख, भक्तपुरले ४४ करोड ३७ लाख रुपैयाँ उठाएको छ। 

उपत्यकाका यी मालपोत कार्यालय पछि सबैभन्दा बढी राजस्व उठाउनेमा चितवन रहेको विभागले जनाएको छ। चितवनले पुसमा १८ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ। 

साँखु मालपोतले १७ करोड ४० लाख, कास्कीले १७ करोड ३४ लाख, काभ्रेले १५ करोड ४२ लाख, काठमाडौंको मनमैजुले १४ करोड ३५ लाख रुपैयाँ संकलन गरेका छन्। 

बुटवल, विराटनगर, इनरुवा र पर्सा मालपोतले १० करोड माथि राजस्व उठाएको विभागले जनाएको छ। 

पुसमा ५९ करोडको सरकारी छुट

विभागका अनुसार पुसमा ५९ करोड राजस्व छुट लिएको जनाएको छ। सम्पत्तिमा महिलाको पहुँच बढाउने उद्देश्यले राजस्व छुट दिने गरिएको छ। प्रदेश सरकारको आर्थिक नीति अनुसार महिला, दलित, ७० वर्ष माथिका नागरिक, १८ वर्ष भन्दा कम उमेरका व्यक्तिका नाममा घरजग्गा किन्दा २५ प्रतिशत राजस्व छुट दिने सरकारी व्यवस्था छ। 

त्यस्तै, एकल महिलाका नाममा गरिने घरजग्गा किनबेचमा ३५ प्रतिशतसम्म राजस्व छुट दिने व्यवस्था छ। महिलाका नाममा किनिने घरजग्गा महिला र पुरुष दुवै जनाको संयुक्त नाममा किन्दा पनि २५ प्रतिशत राजस्व छुट दिने गरिएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ३६ लाख तीन हजार ७७५ रुपैयाँ राजस्व छुट गरिएकोमा २०७४/७५ मा ८८ करोड ५७ लाख ६७ हजार ४३७ रुपैयाँ राजस्व छुट गरिएको थियो। 

२०७५/७६ मा एक अर्ब पाँच करोड ८३ लाख ६९ हजार ९४१ रुपैयाँ राजस्व छुट हुँदा २०७६/७७ मा पुनः ८८ करोड आठ लाख ४० हजार ६० रुपैयाँ मात्रै राजस्व छुट गरिएको थियो।

गत आर्थिक वर्ष २०७७/७८ मा भने चार अर्ब ७० करोड २६ लाख ९४ हजार ३५४ रुपैयाँ राजस्व छुट भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It