News

प्रहरीको १२ रोपनी जग्गा व्यक्तिको नाममा जानबाट जोगियो 

Pinterest LinkedIn Tumblr

काठमाडौं । काभ्रेको पनौती नगरपालिका-११ स्थित प्रहरीले तालिम प्रतिष्ठानका लागि खरिद गरेको जग्गा व्यक्तिको नाममा जानबाट जोगिएको छ । जग्गा विवादसम्बन्धी मुद्दामा जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चले उल्ट्याएपछि २० वर्षअघि खरिद गरेको १२ रोपनी आठ आना दुई पैसा तीन दाम जग्गा प्रहरीकै नाममा रहने भएको हो । 

सो जग्गा प्रहरीले ०६० साल फागुन १० गते स्थानीय यदुप्रसाद सापकोटा, गोविन्दप्रसाद सापकोटा र प्रेमप्रसाद सापकोटासँग खरिद गरेको थियो । जहाँ हाल भारत सरकारको अनुदान सहयोगमा प्रहरी प्रतिष्ठानका लागि आधुनिक तालिम प्रतिष्ठान निर्माण भइरहेको छ ।

सापकोटा सन्ततिले आफूहरूलाई अंश नदिई जग्गा बिक्री गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकोमा काभ्रे जिल्ला अदालत र पाटन उच्च अदालतले उनीहरूकै पक्षमा फैसला गरिदिएको थियो । त्यसविरुद्ध प्रहरीले ८ कात्तिक ०७३ मा सर्वाेच्चमा पुनरावेदन गरेको थियो । 

जसमा सात वर्षपछि ९ असोजमा  न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले प्रहरीको पक्षमा फैसला आएको हो ।

जालसाजी मुद्दाका प्रतिवादीहरू सन्तोष सापकोटा, संघर्ष सापकोटा, सहदेव सापकोटा, सुभद्रा सापकोटा, केदार सापकोटा, रीताकुमारी सापकोटा र महेश्वर सापकोटालाई सजायसमेत हुने भएको छ । हाल मुद्दाको पूर्णपाठ नआएकाले त्यसबारे विस्तृत खुलाइएको छैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It