News

तराईका जिल्लामा मौलाउँदै घरजग्गा कारोबार, यी १० ठाउँ रोजाइमा

Pinterest LinkedIn Tumblr

पछिल्लो समय संघीय राजधानी काठमाडौं उपत्यका बाहिरका सहरहरुमा घरजग्गा कारोबार फस्टाउँदै गएको छ । पछिल्लो डेढ दशक यता मुख्यगरी काठमाडौं उपत्यकामा मात्रै फस्टाएको घरजग्गा कारोबार अहिले देशका विभिन्न सहरहरुमा पनि मौलाउँदै गएको हो ।

विशेषगरी नेपाल संघीय राज्य प्रणालीमा गएसँगै उपत्यका बाहिर घरजग्गा कारोबार फस्टाउँदै गएको देखिन्छ । त्यसमा पनि तराईका जिल्लाहरु हटस्पट बनेका छन् ।मानिसहरु रोजगारी तथा विभिन्न सेवा सुविधाको खोजीमा सहरी क्षेत्रतर्फ बसाइँसराइँ गर्ने क्रम बढेसँगै सहरी इलाकाहरुमा घरजग्गा किनबेच तीव्र भइरहेको छ ।

तराईका मुख्य क्षेत्रहरु झापा, सुनसरी, मोरङ, बाँके, चितवन, धनुषा, जनकपुर, बर्दिबास लगायतका क्षेत्रहरुमा घरजग्गाको किनबेच तीव्र गतिमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौँ उपत्यकापछि तराई जिल्लाहरुमा घरजग्गाको किनबेच बढेको देखिन्छ । विभागको तथ्यांक अनुसार चालु आवको ७ महिनामा सबैभ्न्दा धेरै घरजग्गा किनबेच हुने १० ठाउँमध्ये ७ ठाउँ तराईका जिल्लाहरु रहेका छन् ।

देश संघीय संरचनामा गएसँगै विभिन्न क्षेत्रमा प्रदेश राजधानीहरु तोकिएका छन् । विकासको चरणमा रहेका ती क्षेत्रहरुमा मानिसको बाक्लो आवासका बन्दै गएको छ । पूर्वाधार विकास, औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधा लगायतको विकासले मानिसको ध्यान यस्ता क्षेत्रहरुमा तानेको हो । जसले गर्दा यी क्षेत्रहरु घरजग्गा कारोबारको हटस्पट बन्दै गएको विभागको तथ्यांकबाट प्रष्ट हुन्छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले घरजग्गामा गरिएको लगानी अनुत्पादक भन्दै यस्ता क्षेत्रहरुमा बैंकहरुलाई कर्जा लगानी गर्न लगाम समेत लगाएको छ । यसका बाबजूद पनि घरजग्गाको किनबेच र कारोबार भने झन्डै गत वर्षकै हाराहारीमा रहेको छ । यद्यपि, पछिल्लो दुई महिना यता भने केही सुस्ताएको छ ।

यी हुन् सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० ठाउँ

चालु आवको सात महिना (साउन माघ)मा सबैभन्दा धेरै घरजग्गा किनबेच संघीय राजधानी काठमाडौंमा भएको छ । माघ मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु, चाबहील, टोखा, कलंकी र मनमैजुगरी कुल ३२ हजार ८३६ घरजग्गा किनबेच भएको हो ।

काठमाडौंपछि तराईका जिल्लाहरुमा धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । चालु वर्षमा धेरै घरजग्गा किनबेच हुने जिल्लामा मोरंङमा दोस्रो स्थानमा रहेको छ । यस अवधिमा मोरङका मालपोत कार्यालयमार्फत ३१ हजार ९०९ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त घरजग्गा किनबेच भएका हुन् ।

त्यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच सुनसरीमा भएको छ । सात महिनाको अवधिमा जिल्लाको धरान र इनरुवा मालपोत कार्यालबाट २४ हजार ५९२ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

यसैगरी, झापामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल २३ हजार ९६४, चितवनको खैरहनी, माडी, चनौली गरेर १७ हजार ३२९, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत १५ हजार ९९२ घरजग्गा किनबेच भएको छ ।

बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १५ हजार १०३,बाराको कलेया र सीमराबाट १२ हजार ७०७, ललितपुरको गोटिखेल र लगनखेलबाट १४ हजार ३९६, र भक्तपुरमा १४ हजार ६०६ घरजग्गा किनबेच भएका छन् ।

कुन महिनामा कति घरजग्गा किनबेच ?

चालु वर्षको सात महिनामा देशभर कुल ४ लाख ५३ हजार ९०३ घरजग्गा खरिद विक्री भएको विभागको तथ्यांकले देखाउँछ । यस अवधिमा घरजग्गा रोक्का, फुकुवा र नामसारी गरी कुल कारोबार ११ लाख ५५ हजार ८३४ घरजग्गा सम्बन्धी कारोबार भएको छ ।

सोमध्ये सबैभन्दा साउनमा देशभर ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो । साउनमा १ लाख ९० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । त्यस्तै, भदौमा ७० हजार ९० किनबेच, २ लाख ३६ हजार कुल कारोबार, असोजमा ५९ हजार २२७, किनबेच भएको छ भने कुल कारोबार १ लाख ६८ हजार भएको छ ।

कात्तिकमा ५० हजार ८३ किनबेच १ लाख ३४ हजार कुल कारोबार, मंसिरमा ६९ हजार ४१२ किनबेच १ लाख ६९ हजार कारोबार, पुसमा ७० हजार १६८ किनबेच र १ लाख ५७ हजार किनबेच भएको छ ।यसैगरी, माघमा ५९ हजार ५१६ घरजग्गा किनबेच भएको छ भने १ लाख ३२ हजार कुल कारोबार भएको विभागले जनाएको छ ।

१७ अर्बले बढ्यो राजस्व संकलन

गत वर्षको सात महिनाको तुलनामा चालु वर्षको सात महिनामा घरजग्गा कारोबार वापत कुल १७ अर्ब ६ करोड रुपैयाँले राजस्व संकलन बढेको छ । घरजग्गा नामसारी, रोक्का, फुकुवा लगायत कारोबार वापत माघसम्म सरकारले कुल ४८ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सात महिनामा कुल ३० अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

माघमा ५ अर्ब ५० करोड रुपैयाँ, भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It