News

घरजग्गाको ‘हटस्पट’ बन्दै तराईका जिल्ला, यी हुन् धेरै किनबेच हुने १० ठाउँ

Pinterest LinkedIn Tumblr

पछिल्लो समय तराई घरजग्गा किनबेचका लागि हटस्पट बन्दै गएको छ । विगतमा काठमाडौं र केही मुख्य सहरमा मात्र केन्द्रित रहेको घरजग्गा किनबेच अहिले तराईका जिल्लाहरुमा फस्टाउँदै गएको हो ।

तराईका मुख्य क्षेत्रहरु झापा, सुनसरी, मोरङ, बाँके, चितवन, धनुषा, जनकपुर, बर्दिबास लगायतका क्षेत्रहरुमा घरजग्गाको किनबेच तीव्र गतिमा बढेको हो । यी ठाउँमा अहिले काठमाडौंकै हाराहारीमा घरजग्गा किनबेच हुने गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

चालु वर्षको ६ महिना (साउन पुस)मा देशभर कुल ३ लाख ९४ हजार ३८७ घरजग्गा खरिदविक्री भएका छन् । सोमध्ये आधा बढी तराईका जिल्लाहरुमा मात्र भएका छन् ।

६ महिनामा धेरै घरजग्गा किनबेच हुने १० जिल्लामा ७ जिल्ला तराईका जिल्लाहरु रहेका छन् । काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक धेरै घरजग्गा किनबेच हुने सबै तराईका जिल्लाहरु रहेका छन् । धेरै घरजग्गा किनबेच हुने तराईका जिल्लाहरुमा मोरङ, झापा, सुनसरी, बाँके, चितवन, बारा र धनुषा रहेका छन् ।

६ महिनाको अवधिमा सबैभन्दा धेरै घरजग्गा किनबेच संघीय राजधानीमा समेत रहेको काठमाडौंमा भएको छ । काठमाडौंमा पुससम्म २८ हजार १८७ वटा घरजग्गा किनबेच भएका छन् । सोही अवधिमा मोरङमा पनि काठमडौंकै हाराहारीमा घरजग्गा किनबेच भएको छ । ६ महिनामा मोरङमा २८ हजार ६४ वटा घरजग्गा किनबेच भएको छ ।

यसैगरी, धेरै घरजग्गा किनबेच हुने जिल्लाहरुमा सुनसरी २१ हजार ३३५, झापा २० हजार ७४२, चितवन १५ हजार ७६, धनुषा १३ हजार ८७८, बाँके १३ हजार ३१९ वटा रहेका छन् ।

किन फस्टाउँदै छ तराईमा घरजग्गा किनबेच ?

तराईका जिल्लाहरुमा घरजग्गा कारोबार फस्टाउनुमा काठमाडौंमा जग्गाको भाउ छोइ नसक्नु हुनु, तुलनात्मक रुपमा जग्गाको भाउ काठमाडौंकोभन्दा सस्तो हुनु, उपत्यका बाहिरका सहरमा पनि यहाँकै जस्तो पूर्वाधार विकास हुनु, औद्योगीकरण बढ्नु, रोजगारीका अवसर बढ्नु, सडक पूर्वाधारको सुविधा लगायत कारण रहेका छन् । साथै तराईका विभिन्न स्थानमा स्मार्टसिटी निमार्ण भइरहेकाले पनि मानिसहरूको आकर्षण देखिएको हो ।

घरजग्गा तथा आवास व्यवसायी महासंघका उपाध्यक्ष विदुर धमला उपत्यकामा घरजग्गाको मूल्य धेरै बढेका कारण मानिसहरु तराईतिर झरेको बताउँछन् । ‘विकास निमार्णका कार्यहरु उपत्यकाभन्दा तरार्ई इलाकामा बढ्दै गएका छन्,’ उनले भने ‘संघीय राजधानीमा घरजग्गाको मूल्य अत्याधिक रुपमा बढेको छ । मुख्य राजनीतिक दलका शिर्ष नेताहरुको ध्यान पनि आफ्नो पकेट क्षेत्र तराईको विकासमा गएको छ, त्यसले गर्दा यस्ता ठाउँहरुमा घरजग्गा किनबेच बढेको देखिन्छ।’

आवासलाई मानिसको आधारभूत आवश्यकताको रुपमा लिइन्छ । त्यसैले विदेशमै कमाएको पैसा समेत सानै भएपनि घर बनाउने प्रवृति नेपालीहरुमा रहेको उनको भनाइ छ । सरकारले जग्गाको खण्डीकरण रोक्न हाल कित्ताकाट गर्न दिएको छैन् । त्यसैले यस्ता क्षेत्रहरुमा अप्रत्यक्ष कारोबार गर्न सजिलो हुने भएकाले पनि तरार्ईमा घरजग्गाको किनबेच बढेको धमलाले बताए ।

देश संघीय संरचनामा गइसकेपछि प्रदेशका राजधानीहरु धमाधम निमार्ण भइरहेका छन् । विशेषगरी तरार्ई इलाकामा निमार्ण हुँदै गरेका प्रदेश राजधानीमा जनसंख्या तथा आवास निमार्ण बढ्दो क्रममा रहेको देखिन्छ ।

विकास निमार्णका कामहरु चाँडो बन्ने, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधा पाउन सजिलो हुने भएपछि यस्ता ठाउँहरुमा मानिस घर निमार्ण गर्न आकर्षित देखिएका छन् । तराईलाई जोड्ने फाष्टट्रयाक, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता विकासका ठूला संरचनाहरूले मानिसको ध्यान तानेको छ ।

कुन महिनामा कति घरजग्गा किनबेच ?

चालु वर्षको ६ महिनामा देशभर कुल ३ लाख ९४ हजार ३८७ घरजग्गा खरिद विक्री गरिएका छन् । सोमध्ये सबैभन्दा साउनमा देशभर ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२ र पुसमा ७० हजार १६८ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

४३ अर्ब राजस्व संकलन

चालु आवको ६ महिनामा घरजग्गा कारोबार वापत कुल ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको भन्दा यस अवधिमा राजस्व संकलन १८ अर्ब ४३ करोड रूपैयाँले बढेको छ । गत वर्षको सोही अवधिसम्म कुल २४ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु वर्षमा घरजग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । पुसमा ६ अर्ब ७० करोड रूपैयाँ राजस्व संकलन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It