काठमाडौं । दशैँ लागेसँगै आकाशमा चङ्गा उडेको देख्न पाइन्छ । यतिबेला आकाश सफा र निलो हुन्छ । दशैँताका झरी पर्ने वा हुस्सु लाग्ने सम्भावना कम हुनाले मन्द हावाको बहावमा चङ्गा उडाउन उपयुक्त हुन्छ ।
चङ्गा उडाउनु शुभकार्यका रूपमा पनि लिने गरेको पाइन्छ । लोककथा तथा किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चङ्गा उडाएर पठाएको मानिन्छ । त्यसैले चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ ।
विभिन्न परिवेशमा चङ्गाको फरक महत्वः
चङ्गाको आविष्कार चीनमा इशापूर्व तेस्रो शताब्दीमा भएको हो । चिनियाँ दार्शनिक हुआंग थेगले विश्वमै पहिलोपटक चङ्गा बनाएका थिए । यस हिसाबले चङ्गाको इतिहास २३ सय वर्ष पुरानो भएको आँकलन गर्न सकिन्छ ।
मानिसको महत्वाकाङ्क्षालाई आकाशको उचाइसम्म लिएर जाने चङ्गालाई कतै शुभ त कतै अशुभको रुपमा लिने गरिन्छ । प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चङ्गाको प्रयोग सैन्य उद्देश्यका लागि पनि गरिन्थ्यो । चीनमा राजा राजवंशको क्रममा उडेको चङ्गालाई त्यतिकै छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो ।
कोरियामा चङ्गामा बच्चाको नाम र उसको जन्ममिति लेखेर उडाइन्थ्यो, यसो गर्दा बच्चाको त्यसबर्षभरीको सम्भावित दशा कट्छ भन्ने मान्यता छ ।
नेपाली परिवेशमा चङ्गाको महत्वः
विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन भएपनि नेपालमा भने दशैं–तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ ।
चङ्गा मनोरञ्जनका लागि खेलिने खेल मात्र होइन । यो आफैँमा कला पनि हो । किनभने उडाउने कला भएन भने चङ्गा उड्दैन । यसलाई जीवन जिउने कलासँग समेत जोडिएर हेरिएको छ ।
चङ्गा उडाउने कलाले हामीलाई जीवन र जगतका धेरै कुरा बोध गराउँछ । धागोले बाँधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ ।
चङ्गा एक रोमाञ्चक अनुभूतिः
चङ्गाको उडानले मन मस्तिष्कलाई पनि चङ्गा झै उडानमा उडेको अनुभूति दिने गर्दछ । सबैभन्दा बढी रोमाञ्चित चङ्गा चेटमा हुने गर्दछ । अर्काको चङ्गा चेट गर्दा खुशीले मन पुलकित हुने गर्दछ भने आफ्नो चङ्गा अन्यले चेत गर्दा भने मन दुखित हुने गर्दछ । चङ्गा उडाउँदा शरीर फुर्तिलो हुने गर्दछ । उमेर ढल्केकाहरू पनि चङ्गा उडाउने समय फुर्तिला देखिन्छन् । त्यसैले नेपाली शब्दकोषमा चङ्गालाई फुर्तिलोको विशेषणको रुपमा जनाउने गर्दछ ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।