Lifestyle

विजयादशमी २०७९ः टीकाको शुभ साइत, जमरा र पिङको महत्व

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

काठमाडौं । नवरात्रीको दसौं दिन ‘विजयादशमी’ । आश्विन शुक्ल दशमीका दिन दुर्गा भवानीको पूजा विसर्जन गरि  मान्यजनबाट प्रसादको रुपमा टीका, जमरा ग्रहण गरिन्छ । २०७९ सालको टीका साइत ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

बडादशैँको दसौं दिन अर्थात् विजयादशमीमा नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता र अपराजिता चार देवीको पूजा आराधना गरेर विसर्जन गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण घटकलशको जल अभिषेक गरी मान्यजनबाट टीका र प्रसाद लगाइन्छ । टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई लगाउने गरिन्छ । 

विजयादशमीको धार्मिक महत्वः

वैद्धिक सनातन धर्मको आरम्भ एक अर्ब ९५ वर्ष पहिलेदेखि दशैँ मनाउने चलन शुरु भएको मान्यता छ । अहिले हामीले मनाइरहेका चाडपर्व अनादि अर्थात हजारौँ वर्षअघिदेखि मनाउँदै आएको परम्परा हुन् भन्ने विश्वास छ  । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न घटस्थापना देखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको हो । 

महिषासुर वध

‘सत्य युगमा एक महिषासुर नाम गरेको राक्षस थियो । दृढ स्वभावको राक्षसले विभिन्न छल गरि तपस्याबाट देवताहरूलाई वशमा पार्यो । देवताले पनि प्रसन्न भएको अवस्थामा उसको इच्छामा तथास्तु भनिदिए । तर उसले छल गरि आफू कहिल्यै र कसैबाट पराजित हुन नपरोस् भन्ने वर माग्यो । वर पाएपछि महिषासुरले नर्कको विस्तार गर्दै स्वर्गको ढोकासम्म पुर्यायो । उसले सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, यम, वरुण लगायत देवताहरूको सबै अधिकार खोस्न लाग्यो । आफैँलाई स्वर्गलोकको मालिक घोषणा गर्यो । महिषासुरको कृत्यबाट क्रोधित भएका देवगणले देवी दुर्गाको रचना गरे । दुर्गाको रचनामा सबै देवताहरूले आफ्नो सबै बल लगाए । आ-आफ्ना शस्त्रहरू दुर्गालाई दिए । सबै देवताको ऊर्जाको शक्तिले रचिएकी हुँदा दुर्गा बलवान् भइन् । नौ दिनसम्म देवी र महिषासुरको बीचमा युद्ध भयो । अन्ततः महिषासुरको वध भयो । दुर्गा महिषासुरमर्दिनी बनिन् । यसकै खुसियालीमा दशैँ मनाउने चलन सुरु भयो ।’

यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंको महत्वपूर्ण दिन हो ।

दशैंको सामाजिक महत्वः

दशैँ

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो-सामाजिक सन्देश नै दशैँको मुख्य विशेषता हो । खेतबारीको प्राय कामहरू सकिएको र अन्नबाली भित्र्याउने बेला भएको खुशीयालीमा दशैं मनाउन थालिएको पनि भन्ने गरिन्छ । दशैँ आपसी मेलमिलाप र खुसीको चाड हो । यो चाडमा वर्षौ देखि टाढिएका आफन्तजन साथीभाइ सँगको जमघटमा मिष्ठान्न भोजन गर्ने र मान्यजनबाट आशीर्वाद थाप्ने गरिन्छ । 

घर र वरपरको वातावरणलाई सफासुग्घर र सुन्दर बनाइ नयाँ अनाज भित्र्याइएको हर्षमा देवी देवताको  पूजा गरीन्छ । सोही पूजाको प्रसादका रुपमा आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनहरूबाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ ।  रमाइलो गर्ने पिङ्ग खेल्ने साथीभाई आफन्तहरूसँग भेटघाट गर्ने हुँदा एक आफन्तमा भाईचाराको सम्बन्ध बढ्दै जाने गर्दछ ।

दशैंमा  चङ्गाको महत्वः

दशैंमा चङ्गाको पनि विशेष महत्व छ । शरद ऋतुमा खुलेको सफा आकाशमा चङ्गा उडाउनुको छुटै आनन्द छ । सामान्यतया चङ्गामा केटाकेटीहरू असाध्यै रमाउने गर्दछन् । ‘परापूर्वकालमा खेतीबालीको लागि पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रसम्म पुर्‍याउन चङ्गा उडाउने गरेको धार्मिक कथन छ ।’ वर्षा ऋतुको समाप्तिसँगै आउने दशैंको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ । खुशी र आनन्दित हुन्छ ।

दशैंमा टीकाको महत्वः 

टिका

दशैंमा मान्यजनबाट आशिर्वादस्वरुप टीका/अक्षता र जमारा ग्रहण गर्ने प्रचलन छ । अक्षताले मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रम बढाउने मान्यता छ । रातो र सेतो रंग शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र विचारमा शुद्धता दिन्छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ ।  यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ ।

दशैँको टीका गाईको दुधबाट बनेको दही, चिनी, रातो रंगमा मिलाएर तयार गरिन्छ । यसरी तयार गरिएको टीकालाई निधारको मध्यभाग अर्थात् दुवै आँखीभौंको बीचमा मा आज्ञा चक्रमा लगाइन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्ने धार्मीक विश्वास रहिआएको छ । 

दशैंको जमराः

जमरा

दशैंमा टीकासँगै जमरा राखिदिने चलन छ । धर्मशास्त्रले जमरालाई समृद्धिको प्रतीकका रुपमा चित्रण गरेको पाइन्छ । पौष्टिक खाद्यपदार्थ जमरामा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिन पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको काम गर्ने तथ्य वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ ।

दशैंको पिङः

लिङ्गे पिङ

दशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ । यसो गर्नाले मृत्यु पश्चात स्वर्गमा वास पाइन्छ भन्ने जनविश्वास छ । यसै मान्यताका आधारमा दशैंमा पिङ खेलिन्छ । यसले दशैंमा रमाउने र साथीभाइ सँग जमघट हुने बहाना दिएको छ । 

दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा खाने गरिन्छ । व्यायाम बिना एकोहोरो खाएको खानाले पाचनप्रणालीमा समस्या निम्त्याउँछ । खाना अस्वभाविक बोसोमा रुपान्तरण भई विभिन्न रोग लाग्ने हुन्छ । त्यसैले खानापछि पिङमा मच्चिनाले पेटको व्यायाम हुन्छ । र खानेकुरा पचाउन सहयोग पुग्ने स्वास्थ्यविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It