काठमाडौं । शैक्षिक सफलताको लागि मेहेनत र अनुशासन मात्र पर्याप्त हुँदैन । सकारात्मक वातावरण पनि उत्तिकै आवश्यक हुन्छ । यसो हुँदा अध्ययन गर्ने स्थान, त्यसको दिशा, र व्यवस्थापनले पढाइमा ध्यान केन्द्रित गर्ने, स्मरणशक्ति र सिर्जनात्मकतामा उल्लेखनीय असर पार्छ । आजको लेखमा वास्तु अनुसार घरमा अध्ययन गर्ने कोठा कस्तो हुनुपर्दछ भन्नेबारे चर्चा गरौं ।
वास्तुशास्त्र अनुसार, अध्ययन कक्षलाई घरको पश्चिम, पूर्व वा उत्तर-पूर्व दिशामा राख्नु उपयुक्त मानिन्छ । पश्चिम दिशा बुद्धि र ज्ञान वृद्धि सँग सम्बन्धित छ । जसले विद्यार्थीको एकाग्रता र स्मरणशक्तिमा सुधार ल्याउँछ । यदि पश्चिम दिशामा सम्भव नभएमा पूर्व वा उत्तर-पूर्व दिशामा अध्ययन कक्ष राख्न सकिन्छ । जुन सकारात्मक ऊर्जा र ध्यान केन्द्रित गर्न सहयोगी हुन्छ ।
यी दिशाहरूमा बुध, गुरु, चन्द्र र शुक्र चार ग्रहबाट उत्तम प्रभाव प्राप्त हुन्छ । बुध ग्रहको प्रभावले बुद्धिको वृद्धि, बृहस्पति ग्रहको प्रभावले महत्वाकांक्षा र जिज्ञासामा वृद्धि, चन्द्र ग्रहको प्रभावबाट नयाँ विचारहरूको वृद्धि र शुक्र ग्रहको प्रभावबाट वक्तृत्व, प्रतिभा, कला, सीप र धनको वृद्धि हुन्छ । यसरी राख्दा पढ्ने व्यक्तिको मुख सधैं पूर्व, उत्तर वा उत्तर-पूर्व दिशातर्फ हुनुपर्छ ।
अध्ययन हलमा कहिल्यै शौचालय बनाउनुहुँदैन । अध्ययन कक्ष कहिल्यै पनि दक्षिण-पश्चिम वा अग्नि कुनामा बनाउनु हुँदैन ।
झ्याल, टेबल र अन्य व्यवस्थापन
अध्ययन कोठाको उत्तर वा पूर्वतर्फ झ्याल बनाउनु राम्रो मानिन्छ । अध्ययन गर्ने टेबलको आकार वर्गाकार वा आयताकार हुनु शुभ मानिन्छ । पुस्तकहरू राख्ने टेबल वा दराज कोठाको उत्तर वा पूर्व दिशातर्फ राख्नुपर्छ ।
सिधा बीमको मुनि टेबल राख्न हुँदैन, किनभने यसले मानसिक दबाब सिर्जना गर्न सक्छ ।
यदि अध्ययन कोठामा घडि राख्न चाहेमा पेण्डुलम घडि उपयुक्त हुन्छ । पेण्डुलम घडी पनि कोठाको उत्तरतर्फ राख्दा राम्रो मानिन्छ ।
रंग संयोजन र ऊर्जा सन्तुलनः
अध्ययन गर्ने कोठामा हल्का पहेंलो, सुन्तला वा निलो रंग प्रयोग गर्नु शुभ मानिन्छ । यी रङ्गहरूले वातावरणलाई सकारात्मक र प्रेरणादायी बनाउँछ । साथै, पढ्ने कोठामा वास्तु पिरामिड राख्दा ऊर्जा सन्तुलनमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।