Lifestyle

यी हुन् तिहारमा नभइ नहुने पुजा सामग्रीहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । यतिबेला बजार तिहारमय भएको छ । यमपञ्चकको अवधिभर चाहिने सामग्रीको किनमेल पनि सुरु भइसक्यो । सामान्यतया तिहारमा फूलमाला दियोबत्ती फलफूल र भाइमसलाहरू किनमेल गरिन्छ । तर यमपञ्चकको पाँच दिन छुट्टाछुट्टै पूजा हुने हुँदा अन्य सामग्रीको किनमेल पनि उत्तिकै जरुरी छ ।

यमपञ्चकको पहिलो दिन कागको र दोस्रो दिन कुकुरको पूजा गरिन्छ । काग र कुकुर पूजाका लागि माला र हामीले दैनिक गर्ने नित्य पूजामा प्रयोग गर्ने सामग्रीहरू प्रयोग हुन्छन् । दूध, दही, घ्यू, मह फूल, माला, नैवेद्य, आँप, चाँप, पिपलको पात, पान, सौभाग्य वस्त्र, काँचो नरिवल, पञ्चरत्न, पञ्चपल्लव, सर्वौषधि, रातो सेतो कपडा, सुपारी, दुबो, गुलाब र कमलको फूल, बेलपत्र, पान, ल्वाङ, सुकमेल जस्ता रत्नहरू त प्राय सबै पूजामा प्रयोग हुन्छन् ।

लक्ष्मी पूजा सामग्रीः 

यमपञ्चकको तेस्रो दिन बिहान स्नानादि नित्यकर्म गरी पञ्चोपचार वा षोडशोपचार विधिबाट गाईको पूजा गरिन्छ । र साँझमा लक्ष्मी माताको पूजा गरिन्छ । जसका लागि चाहिने सामग्रीहरू केही घरमै तयार गर्न सकिन्छ भने केही चाहिँ नजिकको पसलबाट पनि लिन सकिन्छः

  • लक्ष्मीको तस्वीर तथा मूर्ति
  • चामलको पीठो, धान, चामल 
  • केराको सुत्ला 
  • कुश, दुना, टपरी, 
  • अबिर, केसरी, जौ, तिल, 
  • दियो, धूपबत्ती, चन्दन, 
  • फूलमाला, 
  • घिउ वा तेल, 
  • तामाको पात्र, तामाको कलश, 
  • रातो, सेतो कपडा, 
  • बिमिरो, भोगटे  
गोवर्द्धन पूजाः

यमपञ्चकको चौथो दिन नित्यकर्म गरी पञ्चोपचार वा षोडशोपचार विधिबाट गोरूको पूजा गरिन्छ । र घरको आँगनमा गाईको गोबरबाट गोवर्धन पर्वतको प्रतीक निर्माण गरिन्छ । जसका लागि चाहिने सामग्रीहरूः

  • अबिर, केसरी, 
  • जौ, तिल, 
  • धुपबत्ती, 
  • फूलमाला, 
  • मिठाई, 
  • दूध, दही, घ्यू, मह । 
भाइटीकाः

यमपञ्चकको पाँचौ दिन भाइटीकाको लागि दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई पान-सुपारी आदि दिएर निम्ता दिन्छन् । टीकाको दिन बिहानै नुहाइ पूजा सामग्री तयार गरि अष्टचिरञ्जीवी पूजा गरिन्छ । र भाइटीकाका लागि पूजा सामग्री, सेलरोटी, ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो र सयपत्रीको माला, सप्तरङ्गी टिका, भाइमसला, कटुस तयार गरी दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी टीका लगाइन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It