Research

यी हुन्, मान्छे बस्न लायक मानिएका विश्वका १० शहरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ (ग्लोबल लिभेबिलिटी इन्डेक्स) ले बस्नका योग्य सहरको सूची सार्वजनिक गरेको छ । बसोबास योग्यता सूचकले सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सूचक तयार पार्ने गर्छ ।

उक्त सूची अनुसार यी हुन् विश्वभर बसोबासका लागि सबैभन्दा योग्य बनेका १० वटा सहरहरूः 

१. भियना, अष्ट्रिया 

Vienna, Austria

अष्ट्रियाको राजधानी भियनाले लगातार तेस्रो पटक पनि आफ्नो नाम विश्वका सबैभन्दा बस्न योग्य शहरको रुपमा शीर्ष स्थान कायमै राखेको छ ।

बसोबास योग्यता सूचकमा भियनाले कुल १०० अंकमा ९८.४ अंक प्राप्त गरेको छ । यसले स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारमा पूर्ण अंक प्राप्त गरेको छ भने संस्कृति विधामा ९३.५ अंक प्राप्त गरेको छ । शहरबासीलाई सार्वजनिक सेवा र सुरक्षाप्रतिको प्रतिबद्धताले गर्दा भियना बसोबासका लागि आदर्श सहरको रुपमा रहँदै आएको छ ।

२. कोपनहेगन, डेनमार्क

कुल ९८ अंकसहित डेनमार्कको राजधानी कोपनहेगन दोस्रो स्थानमा रहेको छ । कोपनहेगन उच्च गुणस्तरीय स्वास्थ्य सेवा तथा सांस्कृतिक विधाका लागि परिचित छ । यो शहरले स्थायित्व, शिक्षा तथा पूर्वाधार विधामा पनि पूर्ण अंक प्राप्त गरेको छ ।

३. जुरिच, स्विट्जरल्याण्ड

Zurich

स्विट्जरल्याण्डको एक शहर जुरिच ९७.३ अंक सहित विश्वको बसोबास योग्य शहरको सूचीमा तेस्रो नम्बरमा परेको छ । जुरिचले स्वास्थ्य तथा शिक्षाको विधामा पूर्ण अंक प्राप्त गरेको छ । यो शहर प्राचीन तथा आधुनिक संस्कृतिको सुन्दर मिश्रणका लागि लोकप्रिय छ । अत्याधुनिक पूर्वाधार संरचना तथा सार्वजनिक परिवहनले गर्दा यो शहर बसोबासका लागि आदर्शतम सहरको रुपमा रहेको छ ।

४. मेलबर्न, अष्ट्रेलिया 

 कुल ९७ अंकसहित दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरिया राज्यको तटीय राजधानी मेलबर्न चौथो स्थानमा परेको छ । मेलबर्न शहर यहाँको सांस्कृतिक विविधताका लागि चर्चित छ । संस्कृति विधामा यो सहरले कूल ९५.८ अंक प्राप्त गरेको छ ।

मेलबर्नले  स्वास्थ्य र शिक्षा विधामा पूर्ण अंक प्राप्त गरेको छ । यसले यहाँको सशक्त सार्वजनिक स्वास्थ्य तथा शिक्षा प्रणालीलाई दर्शाउँछ । सुविधा सम्पन्न पूर्वाधार प्रणाली तथा वातावरणले गर्दा यो शहर बसोबास योग्य सहरको शीर्ष चारमा पर्न सफल भएको हो ।

५. काल्गरी, क्यानडा

स्थायित्व र स्वास्थ्य सेवाको विधामा पूर्ण अंक प्राप्त गर्न सफल काल्गरी सहरले बसोबास योग्यता सूचकांकमा समग्रमा ९६.८ अंक प्राप्त गरी पाँचौ स्थानमा परेको छ । काल्गरी क्यानाडाको अल्बर्टा प्रान्तको सबैभन्दा ठूलो शहर हो । सांस्कृतिक विधामा केही कम अंक पाए पनि काल्गरी शहर शिक्षा तथा पूर्वाधारको पक्ष निकै सशक्त छ ।

६. जेनेभा, स्विट्जरल्याण्ड 

Geneva Switzerland

जुरिच पछि जेनेभा स्विट्जरल्याण्डको दोस्रो-सबैभन्दा बढी जनसंख्या भएको शहर हो । जेनेभा कुल ९६.८ अंक सहित छैटौं स्थानमा रहेको छ ।  स्विट्जरल्याण्ड शहर उच्च गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा प्रणालीका लागि चर्चित छ । जेनेभा सांस्कृतिक पक्ष तथा पूर्वाधार प्रणाली पनि समृद्ध रहेको छ । अत्याधुनिक तथा सुविधासम्पन्न शहरी वातावरणका साथै भरपर्दो सार्वजनिक सेवाहरूका कारण जेनेभा सहरबासीहरूको रोजाइमा पर्दछ ।

७. सिड्नी, अष्ट्रेलिया 

Sydney, Australia

न्यू साउथ वेल्स राज्यको राजधानी शहर सिड्नी उच्च गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारले परिचित छ । सिड्नी बहुआयामिक कलात्मक दृश्य र सांस्कृतिक आकर्षणको विविधताका कारण विश्वको बसोबास योग्य शहरको सातौं स्थानमा पर्न सफल भएको छ । सिड्नीको स्थायित्वयुक्त वातावरण र सुन्दर प्राकृतिक छटाले पनि बसोबास बसोबास योग्य बनेको छ ।

८. भ्यान्कुभर, क्यानडा 

Vancouver-Canada

भ्यानकुभर पश्चिमी क्यानाडाको प्रमुख शहर हो । भ्यानकुभर कुल ९६.६ अंकसहित बसोबास योग्य शहरको आठौं स्थानमा छ । भ्यान्कुभरले शीर्ष दश सहरमध्ये संस्कृति विधामा सबैभन्दा धेरै अर्थात् ९७.२ अंक प्राप्त गरेको छ । यो शहर उच्च गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारका कारण प्रख्यात छ ।

९. ओसाका, जापान 

Osaka-Japan

ओसाका जापानको तेस्रो सबैभन्दा धेरै जनसंख्या भएको शहर हो । प्रकृति र ऐतिहासिक कलाकृतिले भरिएको ओसाका बसोबास योग्य शहरको ९६ अंकसहित नवौं स्थानमा रहेको छ । ओसाकाले स्थायित्व र स्वास्थ्य सेवा विधामा पूर्ण अंक प्राप्त गरेको छ । यद्यपि सांस्कृतिक विधामा भने अंक शीर्ष १० मध्ये सबैभन्दा कम छ तर शिक्षा र पूर्वाधारलगायतले गर्दा ओसाका बसोबास योग्य ठहरिएको छ ।

१०. अकल्याण्ड, न्युजिल्याण्ड

Auckland-New-Zealand

अकल्याण्ड कुल ९६ अंकसहित विश्वका बसोबास योग्य शहरको सूचीमा दशौं नम्बरमा छ । अकल्याण्ड न्यूजील्याण्डको उत्तरी द्वीपमा रहेको एउटा ठूलो महानगरीय शहर हो । अकल्याण्डको स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारमा उच्च अंक रहेको छ । उच्च स्तरिय शिक्षा प्रणालीका कारण अकल्याण्ड उच्च बसोबासयोग्य शहरको रुपमा स्थापित भएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It