News

तमोर करिडोरः पहाडी तथा हिमाली जिल्लामा समृद्धिको ढोका खुल्दै, छोटो समयमै लामो दूरीको यात्रा गर्न सकिने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको तमोर करिडोर कालोपत्रे गर्ने भएको छ । यस करिडोरले पहाडी तथा हिमाली जिल्लामा समृद्धिको ढोका खोल्ने आशा गरिएको छ । विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ । 

तमोर करिडोर भारतीय सीमावर्ती क्षेत्र विराटनगर र चिनको टिप्ताला भञ्ज्याङ जोड्ने सडक हो । यो सडकले पूर्वी पहाडका ताप्लेजुङ सहित धनकुटा पाँचथर र तेह्रथुमको गाउँलाई सहरसँग जोड्छ भने तराईसँगको दूरी पनि छोट्याउँछ । यस करिडोरले २ सय ७० किलोमिटरमा टिप्ताला भञ्ज्याङ र रानी भन्सारलाई जोड्छ । टिप्तालाबाट सुरु भएको तमोर करिडोर ओलाङचुङगोला हुँदै धनकुटाको मूलघाटमा पुगेर कोशी राजमार्गमा जोडिन्छ । 

करिडोरको सुनसरी, चतरादेखि ओलाङचुङगोलासम्मको लम्बाइ २३० किलोमिटर छ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । त्यस्तै, जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ । 

करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा बजेट छुट्याइएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजाने र  निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको नेतृत्वमा तमोर करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार गरिएको छ । बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाइएको थियो । स्रोत सुनिश्चितता भएका धेरै आयोजनाहरूमध्ये तमोर करिडोर पहिलो नम्बरमा रहेको छ ।

कहिलेदेखि सुरु हुन्छ कालोपत्रकाे काम ?

तमोर करिडोर कालोपत्रको काम असोजको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी रहेको छ । यसअघि साउनदेखि नै काम थाल्ने भनिएको थियो । आयोजना प्रमुख कुवेर नेपालीले कालोपत्रेको लागि ठेक्का प्रक्रियामा लैजान गृहकार्य भइरहेको जनाएका छन् ।

सम्पूर्ण पूर्व तयारी सकिए पनि यो बहुवर्षे योजना भएकाले ठेक्का सहमतिको योजना आयोगले गर्ने र ठेक्का यही हप्ता खुल्ने जनाएका छन् । पालिका तहबाट पनि केही सहयोग मिलेको र टेन्डर आह्वान पछि असोज अन्तिम हप्तादेखि कालोपत्रको काम सुरु हुनेछ ।

२०६५ सालदेखि औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ किमी मध्ये ११० किमी सडक खण्ड अर्थात धनकुटाको मूलघाटबाट पाँचथरको गणेशचोक सम्म पनि कालोपत्रे हुने बताइएको छ ।  यस करिडोर धरान हुँदै धनकुटाको मूलघाट लगायत विभिन्न ठाउँबाट तमोरको किनारैकिनार पाँचथर, तेह्रथुम, ताप्लेजुङको ओलाङचुङगोला, चीनको सिमाना टिप्ताला भञ्ज्याङबाट चीनको रिउ सम्म जोडिने छ ।

कालोपत्रेको काम सुरु भएको ३ वर्षभित्रै सक्ने दाबी गरिएको छ । करिडोर कालोपत्रको काम दुईवटा कार्यालय मार्फत हेरिने छ । धरानबाट पाँचथरको सुभाङ खोलासम्म एउटा कार्यालयले र सुभाङ खोलाबाट ताप्लेजुङकाे ओलाङचुङगोला हुँदै चीन जोड्ने सडक खण्डको काम ताप्लेजुङमा रहेको कार्यालयले हेर्ने छ ।

तमोर करिडोरको मूलघाटदेखि पाँचथरको भालुचोक खण्डमा रहेका ७ वटा खोलामा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइ काम सुरु भएको छ । सो क्षेत्रमा रहेका ठूला खोलाहरू नाबा, रगुवा र छरुवामा पुल निर्माणको काम धमाधम भइरहेको आयाेजना प्रमुख नेपालीले बताए ।

पाँचथरको सुभाङबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्ने थिवासम्मको ५७ किलोमिटर सडक ग्राबेलको लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक खण्डको तीन प्याकेजमा काम भइरहेको उत्तर दक्षिण (ओलाङचुङगोला) सडक आयोजना समितिले जनाएको छ । अब ग्राबेलको काम सम्पन्न भएपछि कालोपत्रेको काम हुने बताइएको छ ।

ताप्लेजुङको ओलाङचुङगोला पुग्न तमोर नदीमा ४ वटा र अन्य स्थानमा ११ वटा गरी १५ वटा पुलको आवश्यकता रहेकाे छ ।

तमोर करिडोर सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र तराईबीचको दूरी धेरै छोटो हुनेछ । करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरानसम्म झन्डै ३ घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै ४ घण्टामा धरान पुग्न सकिन्छ । ताप्लेजुङबाट धरानको दूरी झन्डै १९० किलाेमिटरमा कम हुने बताइएको छ । हाल नागरिकहरू धरान पुग्नका लागि इलाम, झापा र मोरङ हुँदै झन्डै ३ सय ५० कि मी दूरीको लामो यात्रा तय गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It