News

दुर्घटनाको जोखिममा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि एजेण्ट सम्मको उठिबासको संकेत

By BN EditorialFebruary 6, 20222 min read
दुर्घटनाको जोखिममा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि एजेण्ट सम्मको उठिबासको संकेत

अहिले सबैभन्दा चर्चा हुने क्षेत्र भनेको शेयर बजार र घरजग्गा कारोबार हो । सबैतिर कि शेयर बजारका सुनिन्छन् भने कि घरजग्गा कारोबारका गफ सुनिन्छन् ।

आर्थिक मन्दीको अहिलेको अवस्थाले घरजग्गा कारोबार सहज छैन भन्ने देखाएको छ । कारोबार नै सुस्त देखिएको छ । वित्तीय क्षेत्रमा तरलता अभावका कारण खरीदकर्ताहरुसँग पैसा नहुँदा कारोबार सुस्ताएको हो । 

दुर्घटनाको जोखिममा घरजग्गा कारोबार

नेपालको घरजग्गा व्यवसाय तथा कारोबारको क्षेत्र औपचारिक भईसकेको छैन । यसकारण यो क्षेत्र  जोखिममा पर्न सक्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतले चेतावनी दिने बाहेक अर्को विकल्प सुझाउन पनि सक्ने अवस्था छैन ।

असोज पछिको कारोबारले घरजग्गा कारोबार तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । पौष महिनाको कारोबारले त झन घरजग्गाको मन्दी अझै केही समय लम्बिन सक्ने देखाएको छ ।

विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट अर्थतन्त्रको चेन घुम्ने नेपालमा अहिले रेमिट्यान्स घट्दो छ । रेमिट्यान्स घट्दो र महँगी बढ्दो छ । महँगी बढेका कारण विदेशबाट पठाएको रकम केवल घर खर्चमै खुम्चिँदा आफन्त विदेशमा भएकाहरुले घरजग्गा जोड्न सकेका छैनन् ।

अहिले राष्ट्र बैंकले घरजग्गा कारोबारको इन्डेक्सको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकको अब प्रकाशित हुने अध्ययनले नाफा कमाउन बैंक तथा वित्तीय संस्थाबाट मोटो रकम ऋण लिएर घरजग्गामा लगानी गरेकाहरुको लगानी कुनैपनि बेला डुब्न सक्ने देखाउने छ ।

‘घरजग्गाको मूल्य जति बढ्नुपर्ने हो, करिब करिब बढिसक्यो, नाफाक कमाउन करोडौ ऋण लिएर जग्गामा लगानी गरेकाहरुको लगानी फस्ने मात्रै होइन, डुब्ने हुने संकेत देखिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यो १ दशकमा भएको घरजग्गाको मूल्य वृद्धिलाई प्राकृतिक मान्न सकिन्न, घरजग्गाको मूल्य वृद्धिको अन्तिम बिन्दु टाढा छैन भन्ने नै देखिएको छ, त्यसकारण यो क्षेत्र दुर्घटनाकै जोखिममा छ ।’

कारण के ?

घरजग्गा कारोबार संकटको नजिक पुग्नुका पछाडी केही कारण छन् । पहिलो कारण भनेको ‘खरिद क्षमतामा आएको ह्रास’ हो। आम्दानीले घर खर्च मात्रै चल्ने र जग्गाजमिन खरिद गर्न बैंकबाट ऋण पाउन सकिने अवस्था नभएकाले अहिले खरिद क्षमतामा ह्रास आएको छ । जसका कारण राष्ट्र बैंकले यो क्षेत्रमा समस्या देखिरहेको।

दोस्रो कारण भनेको कारोबारीहरुले सरकारी हस्तक्षेपको संकेत देखेका छन् । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ गरिएका हजारौ प्लट जग्गा किनबेचमा रोक लगाउने तयारी गरेको छ । उपत्यकामा अनुमति लिएर प्लटिङ गरेका व्यवसायीले पनि अनिवार्य रुपमा होडिङ बोर्ड राख्नुपर्ने व्यवस्था हुँदैछ ।

यदि कसैले अनुमति नलिई प्लटिङ गरेको छ भने उसको नाम, ठेगाना सार्वजनिक गरेर त्यस्तो जग्गाको खरिद बिक्रिमा रोक लगाउन सक्ने संकेत प्राधिकरणले गरिसकेको छ । 

भूमि व्यवस्था मन्त्रालयले पनि जग्गाको वैज्ञानिक मूल्य निर्धारण गर्ने र सबै तिर एउटै मूल्यांकन लागू गर्ने योजना अघि बढाईसकेको छ । अर्कोतर्फ, भू–उपयोग नियमावली स्वीकृत भएपछि जहाँ पायो, जुन पायो त्यहीँ जमिनमा घर बनाउन पाइने छैन । 

अर्को कारण भनेको अप्राकृतिक मूल्य वृद्धि नै हो । मूल्य वृद्धिका कारण घरजग्गा किन्न चाहनेले पनि किन्न सकिरहेको छैन।

basobaasbasobaas nepalreal estate business

You May Also Like

More stories from Basobaas