News

तरलताले घर जग्गा व्यवसाय संकटमा, व्यवसायी भन्छन-‘भूकम्पबाट तंग्रिनै लाग्दा अर्काे धक्का’

Pinterest LinkedIn Tumblr

बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो ।

‘घरजग्गाको कारोबार ठप्प छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर गर्यो । पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने ।

नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कर्टाती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए । ‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो । बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए ।

नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हेर्न दृष्टिकोणमै व्यापक सुधार आवश्यक रहेको दावी पनि गरे । ‘युरोप र अमेरिकामा घरको मूल्य एक लाख डलर पर्दा बैंकले एक लाख १० हजार डलर ऋण दिन्छन् किन की उसले इन्टेरियर र फर्निचर लगायतका समानमा अतिरिक्त लगानी गरेको हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रतिशत मात्रै ऋण पाइन्छ’, राजभण्डारीले दुखेसो पोखे ।

युरोप, अमेरिकामा मोर्गेज शिर्षकमा दिइन घर जग्गा कर्जाको ऋण भुक्तानी अवधी पनि ३५ बर्ष हुने रसुरुमा ब्याज मात्रै तिरेर अन्तिममा एकै पटक सावाँ भुक्तानी गर्ने सुबिधा पनि रहेको उनले जानकारी दिए । नेपालमा भने ७० प्रतिशत मात्रै कर्जा दिएर पनि सावाको किस्ता र व्याजसहित १५ बर्षभित्रै भुक्तानी गरिसक्नु पर्ने व्यवस्था राखिएको पनि उनले असन्तुष्ठि पोखे । ‘युरोप अमेरिकामा होम लोन दिन सरकारले पनि बैंकहरुलाई प्रोत्साहन गरेको हुन्छ । तर नेपालमा निरुत्साहित गरिरहेको छ, यो विडम्बना हो’, राजभण्डारीले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले घर जग्गामा लगानी गर्नुलाई अनुत्पादक भन्ने परिभाष नै गलत रहेको बताए । ‘हामीले घर जग्गामा लगानी गर्नुलाई नै अनुत्पादक भनिरहेका छौं, घर घडेरीमा लगानी नगर्नु भनेर नागरिकलाई सधैँ डेरामा बस्नु भन्न खोजिएको हो ?’ शाहले प्रतिप्रश्न गरे । अनुत्पादक कर्जा भनेको के हो भन्ने कुरा नेपालका नियामक निकायले बुझ्नै नसेको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It