News

पर्सामा सार्वजनिक जग्गा भू-माफियाको कब्जामा

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।  

प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राह्मणीले पर्साका विभिन्न ठाउँको जग्गा कब्जा गरी आफ्नो नाममा बनाएको  अन्सारीको आरोप छ । जग्गा हडप्नेहरूलाई आफूले कानुन अनुसार कारबाही गराउन खोजेपनि न्यायलयमा भूमाफियाको पकड र प्रभाव रहेकाले सम्भव नभएको दुःखेसो व्यक्त गरेका छन् ।

परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी भू–माफिया प्रमोद विक्रम शाहले किर्ते जालसाजी गरी आफ्नो नाममा जग्गाधनी स्रेस्ता पुर्जा कायम गराएको उनको आरोप छ । भू–माफिया साहको उक्त कार्यविरुद्ध आफूले दायर गरेको मुद्दामा २०६५ साल असार २६ गते जिल्ला अदालत पर्सा र २०६७ साल असार २८ गते पुनरावेदन अदालत हेटौंडाबाट उक्त जग्गा सार्वजनिक नै भएको ठहर भएको उनले बताए ।

जिल्ला अदालत र उच्च अदालतको उक्त फैसलालाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र दीपकराज जोशीको संयुक्त इजलासले भूमाफिया शाहकै हक लाग्ने ठहर गरेको उनले बताए । 

न्यायाधीशद्वयले प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ । उक्त सरकारी जग्गा व्यक्तिको नामबाट सार्वजनिक गराउन आफूले अहिले पनि मुद्दा अगाडि बढाइरहेको उनले बताए । 

उनले अहिले उच्च अदालत वीरगञ्जमा उक्त मुद्दा लामो समयदेखि विचाराधीन रहेको बताए ।त्यस्तै, पर्साकै छपकैयास्थित कित्ता नं. ११७ र ९७ को नेपाल सरकारको नाममा रहेको जग्गा इन्दुमती देवी केडियाको नाममा दर्ता भएको उनको दाबी छ ।

वीरगञ्ज महानगर वडा नं. १२ को कित्ता नं. ४३ को राम जानकी मन्दिरको जग्गा हिरा देवी ब्राह्मणीको नाममा दर्ता भएको उनको आरोप छ । उक्त मुद्दा आफूले अदालतमा दर्ता गराएपनि प्रलोभनमा परेर अदालतले भूमाफियाकै पक्षमा फैसला गरेको उनको आरोप छ ।एउटा साधारण नागरिकले कानुनी प्रक्रिया, कानुनी जटिलता, कानुनी आधार र प्रमाण खोजेर आफ्नो निजी खर्चबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा राज्यले नै बेवास्ता गरेकोमा उनले दुखेसो व्यक्त गरेका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It