काठमाडौं । घर भइरहेको स्थानबाट आवश्यकता अनुसार अर्को ठाउँमा सार्ने तथा उचालेर जग थप्ने प्रविधि ‘घर लिफ्टिङ’ हो । नयाँ घर निर्माण गर्न भन्दा घर सार्न कम खर्चिलो हुने हुँदा यसप्रति मानिसको चासो बढ्न थालेको छ । आजको लेखमा कस्तो अवस्थामा घर सार्नु उचित हुन्छ र यसबाट हुने फाइदा तथा आइपर्न सक्ने खतराका बारेमा चर्चा गरौँ ।
घर लिफ्टिङका सबल पक्षहरू
१. प्राकृतिक प्रकोपबाट सुरक्षाः
घर लिफ्टिङको सहायताले बाढी प्रभावित क्षेत्रहरूमा हुनसक्ने क्षतिबाट जोगाउन घरलाई जलस्तरभन्दा माथि उठाउने गरिन्छ । साथै जमिन धसिने जोखिम हुने क्षेत्रमा पनि यो प्रविधिको प्रयोग गरी घरलाई उठाएर सुरक्षित राख्न सकिन्छ ।
२. फाउन्डेसन वा संरचनागत सुधारः
फाउन्डेसन कमजोर भएका घरहरूका लागि यो प्रविधि निकै उपयुक्त देखिन्छ । यो प्रविधिको प्रयोग गरी घरलाई लिफ्ट गरेर नयाँ फाउन्डेसन राख्न सकिन्छ । यसरी घरको फाउन्डेसनलाई दीर्घकालीन बनाउँछ । साथै यो प्रविधिको प्रयोग गरी पाइपलाइन, ढल, वा अन्य संरचना मर्मतका लागि तलको भागलाई सजिलै उठाएर काम गर्न सकिन्छ ।
घर लिफ्टिङका दुर्बल पक्षहरू
१. खर्चिलोः
घरको लिफ्टिङ गर्दा संरचनात्मक परिवर्तन गर्नुपर्ने हुन्छ, जसमा विशेष प्रविधि र कौशल जनशक्तिको आवश्यक हुन्छ । साथै यसका लागि आवश्यक निर्माण सामग्री र मेसिनरीहरू नेपालमा सहजै उपलब्ध छैन ।
२. प्राविधिक चुनौतीहरूः
घर लिफ्टिङका लागि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । साथै यससँग सम्बन्धी प्राविधिक ज्ञानको समेत अभाव भएकाले घर लिफ्टिङमा प्राविधिक समस्या आउन सक्छ ।
३. उच्च जोखिमः
नेपालमा लिफ्टिङ प्रविधि भित्रिएको धेरै भएको छैन । यसो हुँदा प्राविधिक ज्ञान, योजना, विशेषज्ञताको कमि छ । लिफ्टिङमा विशेष सुरक्षा उपायहरू नअपनाई घरको आधार र संरचना नै उठाउँदा संरचनामा नै ठुलो क्षति हुन सक्छ । साथै भूकम्पीय जोखिम भएका देशमा घरको लिफ्ट वा सिफ्ट गर्ने काम जोखिमपूर्ण हुन सक्ने कतिपय इन्जिनियर बताउँछन् । लिफ्टिङ गर्दा सेस्मिक लोड (परकम्पन) धान्ने क्षमता ह्रास हुने हुँदा जोखिमको प्रबल सम्भावना हुन्छ । तर नेपालमा यसको प्राक्टिस भइनसकेकाले यो निकै जोखिमपूर्ण हुने इन्जिनियरहरूको भनाइ छ ।
३. निर्माण अनुमति प्रक्रियाः
घर लिफ्टिङका लागि योजना तयार गर्नुपर्छ । जसमा घरको संरचनाको विश्लेषण, डिजाइन र प्राविधिक योजनाहरू समावेश हुनुपर्छ । यी योजनाहरू लिफ्टिङ पेसामा अभ्यास भएका विशेषज्ञबाट तयार गरिएका हुनुपर्छ । तर नेपालमा यससँग सम्बन्धित कुनै अध्ययन तथा अनुसन्धान भएको पाइँदैन । भने लिफ्टिङसँग सम्बन्धित कुनै पनि कानुनी व्यवस्था लागु गरिएको छैन ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।