Lifestyle

घरजग्गाको रजिष्ट्रेसन पास गर्दा के-कस्ता कागजात चाहिन्छ ?

By BabinaAugust 25, 20242 min read
घरजग्गाको रजिष्ट्रेसन पास गर्दा के-कस्ता कागजात चाहिन्छ ?

काठमाडौं । घरजग्गाको खरिद बिक्रीका क्रममा विभिन्न कागजातहरूको आवश्यकता पर्दछ । क्रेता र बिक्रेताबीच भएको सहमतिलाई वैधानिकता दिने प्रक्रियामा दुवै पक्षबाट कागजात तयार पार्नुपर्ने हुन्छ । तर यसको कागजी प्रकृयाबारे जानकारी नहुँदा धेरै झन्झट आउन सक्छन् । आज रजिष्ट्रेसन पास गर्दा आवश्यक पर्ने कागजात र ती प्राप्त गर्ने तरिकाबारे विस्तृतमा चर्चा गरौं ।

१. जग्गाधनी प्रमाण पुर्जाको सक्कल तथा फोटोकपी 

जग्गा पास गर्दा खरिद बिक्री गर्न लागिएको जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपूर्जाको सक्कल र फोटोकपी आवश्यक पर्छ । यो जग्गा बिक्रीकर्तासँग हुने भएकोले जग्गा पास गर्ने दिन बिक्रेतालाई सक्कली पूर्जा नै ल्याउन अनुरोध गर्नुपर्छ ।

२. किनबेच गर्ने दुवै पक्षको नागरिकताको सक्कल तथा फोटोकपिः

घरजग्गा किन्नेबेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी साथमा हुनुपर्छ । फोटोकपीमा सम्बन्धित व्यक्तिले सही गरी फाइलमा समावेश गर्नुपर्छ । मालपोत अधिकृत वा कर्मचारीले सनाखत गर्ने बेला सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भई नागरिकताको सक्कल कपी देखाउनुपर्छ ।

३. मालपोत कर तिरेको रसिद तथा घरसमेत भए करचुक्ता प्रमााणपत्रः

चालु आर्थिक वर्षसम्मको मालपोत कर तिरेको रसिदको फोटोकपी तथा घर समेत भए घरको कर तिरेको कर चुक्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कल समेत ल्याउनु पर्छ । हाल यस्तो कर महानगरपालिका, नगरपालिका तथा गाउँ पालिकाहरूको वडा कार्यालयहरूमा तिर्ने गरिन्छ ।

४. राजीनामाको लिखतः

घर जग्गाको थैली रकम, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको वडा, नक्सा सीट नं., मोठ, पाना नं. लगायतका कुरा लिखतमा उल्लेख गरिने भएकाले पहिलाको लिखतको सक्कल तथा फोटोकपी समेत आवश्यक पर्छ । सोही बमोजिमको विवरण हुबहु फरक नपर्ने गरी सरकारी मूल्यांकन तथा चलनचल्तीको बजारमुल्यलाई समेत मध्यनजर गरी खरिदकर्ता र बिक्रीकर्ताको सहमतिमा किन्ने व्यक्तिको नाममा नयाँ लिखत तयार गर्नुपर्छ । 

यस्तो लिखतमा १/१ जना साक्षी राख्नुपर्छ । साक्षी राख्दा सकेसम्म किन्ने र बेच्नेका एकाघरका हकदार व्यक्तिलाई राख्न सकेमा कानूनी रुपमा सुरक्षित मानिन्छ । हाल धेरैजसो मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरिसकेको हुनाले अनलाइनमा सबै विवरण भरेर त्यसैलाई प्रिन्ट गरेर प्रमाणित गराउन सकिन्छ । थैली कायम गर्दा सकेसम्म पुरै खरिद मूल्य राख्नुपर्छ । पछि कुनै कानूनी समस्या, मुद्दा मामिला परेमा सोही बमोजिम पाउने हुँदा कानूनी रुपमा सुरक्षित हुन्छ ।

५. घरबाटो तथा चार किल्ला सिफारिशः

घरजग्गासँग जोडिएको बाटोको प्रकार (कच्ची, पक्की), बाटोको फैलावटबारे विवरण पेश गर्नुपर्ने हुन्छ । त्यसैगरी वरपर घर भएनभएको तथ्यसहित चार किल्लामा क–कसको कस्तो जग्गा वा घर रहेको छ आदि कुरा खुलाएर सम्बन्धित वडा कार्यालयले दिने सिफारिश जग्गा बिक्रेताले ल्याउनु पर्छ । नियमानुसारको शुल्क लिएर वडा कार्यालयले उक्त सिफारिश उपलब्ध गराउँछन् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

Document ChecklistLand Registrationlegal documentsNepal Land LawsProperty Legal ProcessProperty Registrationproperty transferReal Estate GuideReal Estate NepalRegistration Requirements

You May Also Like

More stories from Basobaas