News

घरजग्गा कारोबार लाग्यो ओरालो, माघ महिनामा यी ठाउँमा भए धेरै किनबेच

Pinterest LinkedIn Tumblr

घरजग्गा कारोबार ओरालो लागेको छ । कात्तिक यता उकालो लागेको घरजग्गा कारोबार माघमा भने सुस्ताएको हो ।

बैंकिङ प्रणलीमा देखिएको चरम तरलता अभावका कारण सहजै ऋण नपाउने अवस्था नहुँदा घरजग्गा कारोबार सुस्ताएको हो । त्यस्तै, पछिल्लो समय कोरोनाको तेस्रो भेरियन्टका कारण आर्थिक गतिविधि कम भई मानिसहरुको आयआर्जनमा कमी आउँदा पनि घरजग्गा कारोबार मन्दी आएको हो ।

साथै, फागुनमा समेत घरजग्गा कारोबार ओरालो नै लाग्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घरजग्गामा हुने ऋण लगानीलार्ई कडाइ गर्ने संकेत गरेको छ । यसले आगामी दिनमा पनि घरजग्गा कारोबार झनै सुस्ताउने आकलन छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसको तुलनामा माघ महिनामा घरजग्गाको किनबेच १० हजार ६६२ ले घटेको हो । गत पुसमा कूल घरजग्गाको किनबेच ७० हजार १६८ रहेकोमा पछिल्लो एक महिनामा घटेर ५९ हजार ५१६ पुगेको छ । माघमा किनबेच, रोक्का, फुकुवा गरी कुल १ लाख ३२ हजार ५३ ओटा घरजग्गाको कारोबार भएको विभागले जनाएको छ ।

असोज र कात्तिकमा सुस्ताएको घरजग्गा किनबेच मंसिर र पुसमा बढेको थियो भने माघमा ओरालो लागेको हो । चालु आर्थिक वर्षको पहिलो चालु आवको साउनमा १ लाख ९० हजार घरजग्गा कारोबार भएको थियो । जसमध्ये ७५ हजार ४१७ किनबेच भएको थियो । भदौमा कुल कारोबार २ लाख ३६ हजार र ७० हजार ९० किनबेच भएको विभागको तथ्यांक छ।

त्यसैगरी, असोज महिनामा १ लाख ६८ हजार घरजग्गा सम्बन्धी कारोबार र करिब ५९ हजार किनबेच भएको थियो । कात्तिकमा १ लाख ३४ हजार कारोबार हुँदा ५ हजार किनबेच भएको थियो । विभागका अनुसार मंसिरमा १ लाख ६९ हजार घरजग्गा सम्बन्धी कारोबार हुँदा ६९ हजार किनबेच भएको थियो ।

यसैगरी, पुसमा ७० हजार किनबेच र १ लाख ५७ हजर १३८ कारोबार भएको थियो । विभागका अनुसार चालु आवको सात महिनामा कुल ११ लाख ५५ हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । सो मध्ये ४ लाख ५३ हजार ८९५ घरजग्गा किनबेच भएको छ ।

घट्यो राजस्व संकलन

घरजग्गा किनबेच घटेसँगै त्यसवापत प्राप्त हुने राजस्व पनि घटेको छ । नामसारी, रोक्का, फुकुवा लगायत कारोबार घट्दा राजस्वमा कमी आएको हो ।

पुसको तुलनामा माघ महिनामा १ अर्ब २ करोड रुपैयाँ बराबरको राजस्व घटेको छ । घरजग्गा कारोबार वापत पुसमा कुल ६ अर्ब ७० करोड रुपैयाँमा राजस्व संकलन गरिएकोमा माघमा घटेर ५ अर्ब ५० करोड रुपैयाँमा सिमित भएको विभागले जनाएको छ ।

चालु आवको सात महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ४८ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

माघमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच

माघमा देशभरका मालपोत कार्यालयबाट ५९ हजार ५१६ वटा घरजग्गा किनबेच भएका छन् । सोमध्ये सुनसरीको भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट भन्दाधेरै २ हजार ८०७ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

माघमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरुमा क्रमशः मालपोत कार्यालय बेलवारी मोरङ २५३६, मालपोत कार्यालय धनुषा २१६४, मालपोत कार्यालय भद्रपुर झापा १९८०, मालपोत कायाृलय भक्तपुर १९२२, मालपोत कार्यालय लगनखेल ललितपुर १९१६, नेपालगञ्जको बाँके मालपोत कार्यालयबाट १७८४ घरजग्गा नासारी भएको छ ।

यसैगरी, मालपोत कार्यालय कलंकीबाट १६६८, मकवानपुर १५०५, चितवनबाट १३०६, मालपोत कार्यालय कलैया बारा १२९४, काभ्रपलान्चोक १२५५ र मालपोत कार्यालय झापाको दमकबाट १३४२ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

माघमा देशभरका १२८ मालपोतमध्ये ७ ओटा कार्यालयबाट घरजग्गा सम्बन्धी अन्य कारोबार भए पनि किनबेच भने भएको छैन । विभागका अनुसार माघमा मालपोत कार्यालय सर्लाहीको बलरा,सिर्दिवास,मनाङ, बझाङको झोता मालपोत कार्यालय, चनद्रौटा मालपोत कार्यालय कपिलवस्तु र मालपोत कार्यालय बुटवलको रुपन्देहीबाट एउटा पनि घरजग्गा किनबेच भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It