Policy

कस्तो सम्पत्ति रोक्का हुन्छ? यस्तो हुन्छ रोक्का प्रकृयाः

Pinterest LinkedIn Tumblr

काठमाडौं । बेलाबेलामा सम्पत्ति रोक्कासम्बन्धी समाचार आइरहेका हुन्छन् । तर कस्तो अवस्थामा सम्पत्ति रोक्का गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । जग्गा रोक्काको लागि आधिकारिक प्रमाण र कारण चाहिन्छ । आज हामी कस्तो सम्पत्ति रोक्का हुन्छ र के छ जग्गा रोक्का प्रकृया यसबारे जानकारी दिँदैछौँ । 

सम्पति रोक्का प्रकृया कस्तो हुन्छ ?

आधिकारिक प्रमाण र कारणबिनै कसैको पनि सम्पत्ति रोक्का गर्न पाइँदैन । आफ्नो व्यक्तिगत दुश्मनीका कारण कसैले पनि जग्गा रोक्का गर्न सक्दैन । रोक्का हुन सक्ने भनेको धेरैजसो अवस्थामा अचल सम्पत्ति वा व्यक्तिको हकमा घरजग्गा हो । 

जग्गा रोक्काको लागि सम्बन्धित व्यक्ति र तथा संस्थासँग रोक्का गर्नुपर्ने कारणको आधिकारिक प्रमाण हुनुपर्छ । ती प्रमाणका आधारमा आफ्नो हक वा आफूलाई असर पर्ने जग्गाको हक संरक्षणका लागि जिल्ला अदालतमा गएर मुद्दा दायर गर्नुपर्ने हुन्छ । मुद्दा दायर नगरी जग्गा रोक्का हुन सक्दैन ।  

मुद्दा दायर भइसकेपछि पनि सम्पत्ति बिक्री हुनसक्ने अवस्था हुन्छ । जग्गाको आधिकारिक मालिकले मुद्दालाई प्रभावित पार्ने मनसायले जग्गा बिक्री गरेमा मुद्दाको प्रयोजन समाप्त हुन्छ । त्यसकारण जग्गाको रोक्का गरिपाउँ भनी अदालतबाट जग्गा रोक्का गर्न मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम जग्गा रोक्का सम्बन्धी आवेदन दिनु पर्छ । 

यसरी मुद्दा परेको अवस्थामा मात्र अदालतले मुद्दाको फिरादका सन्दर्भलाई हेरेर हक पुग्ने देखिएमा विवादित जग्गालाई मुद्दा फैसला नभएसम्म पुनर्विचार गर्नेगरी जग्गालाई रोक्का राख्न आदेश गर्छ । सो आदेशअनुसार मालपोत कार्यालयमा पत्राचार हुन्छ । तब मात्र मालपोत कार्यालयबाट जग्गा रोक्का गरिन्छ । 

कस्तो अवस्थामा सम्पत्ति रोक्का हुन्छ? 

  • बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धितोस्वरुप घरजग्गा राख्दा सम्पत्ति रोक्का हुन्छ । 
  • व्यक्ति वा संस्थासँग लेनदेन गर्दा ऋणिले ऋण नतिरेको अवस्थामा देवानी तथा फौजदारी मुद्दा मामिलाका कारण अदालती आदेशबाट सम्पत्ति रोक्का हुन्छ । 
  • कानुनबमोजिम सरकारी निकायमा तिर्नु, बुझाउनुपर्ने सरकारी राजस्व, ठूला रकमका महसुल, करलगायतका सरकारी दायित्व भुक्तानी नगरेमा सरकारी निकायको आदेशमा समेत सम्पति रोक्का हुन सक्छ ।
  • पिताले छोराछोरीको हक लाग्ने सम्पति छोराछोरीको अनुमतिबिना कारोबार गर्न लागेको अवस्थामा पनि जग्गा रोक्का गर्न सकिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It