News

महानगरको गौरव र स्वर्णिम योजनाः यसले घरजग्गा क्षेत्रमा वृद्धि होला त?

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाले १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । गौरवका योजनामार्फत महानगरको प्रमुख समस्याको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै महानगरपालिकालाई समृद्ध महानगरको रुपमा स्थापित गर्ने विषयहरू समेटिएका छन् । 

आम चासोको विषय भएकाले योजना कार्यन्वयन पछि यसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने आँकलन गरिएको छ । यसले महानगरको पर्यटन प्रवर्द्धनका साथै घरजग्गा कारोबारमा समेत वृद्धि हुनसक्ने हुने जानकारहरू बताउँछन् । यी योजनाहरू आउँदो ३ वर्षभित्र सम्पन्न हुने महानगरले जनाएकाे छ ।

महानगरपालिकाको १० वटा गौरवका र २५ वटा स्वर्णिम योजनामध्ये शहरी विकासका केन्द्रित योजनाहरू 

१) उज्यालो सहर, मेरो महानगर

यस योजनाअन्तरगत ३ वर्षभित्र सबै सडकमा बत्ती जडान गरिसक्ने लक्ष्य छ । यसका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा १०० स्थानमा हाइमास्ट लाइट जडान गरिनेछ ।

२) महानगरले देख्छ

सबै सडक, गल्ली जस्ता सार्वजनिक स्थानमा ३ बर्षभित्र सीसीटिभी क्यामरा जडान गर्ने योजना छ ।  जसका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

३) धुलोरहित सडक

सबै सडक र पेटीहरुलाई धुलोरहित बनाउने योजनाअन्तरगत १ अर्व बजेट विनियोजन भएको छ ।

४) मेरो रहर, सुन्दर र हरित सहर

यस योजनाअन्तरगत पार्क र आइल्याण्ड निर्माण तथा मर्मत, हरियाली प्रवर्धनका लागि विरुवा रोप्ने जस्ता क्रियाकलाप हुनेछन् । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

५) सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुन:स्थापना

जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनस्थापना हुनेछन् । 

स्वर्णिम योजना

१) सुन्दर विद्यालय परियोजना

विद्यालयलाई कलात्मक, सुन्दर र हरियाली प्रवर्धन गर्नु यसअन्तर्गतका क्रियाकलाप हुन् । यस योजनाका लागि शिक्षा विभागअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

२) पिउने पानी तथा सार्वजनिक शौचालय

महानगर क्षेत्रभित्रका उपयुक्त र आवश्यक ठाउँमा शौचालय र पिउने पानीको प्रबन्धका लागि ४ करोड रुपैयाँ विनियोजत गरिएको छ । 

३) इरेण्टल

यो वहाल व्यवस्थापनका लागि इन्टरनेटमा आधारित प्रणाली हो । यस योजनाअन्तरगत महानगरभित्र समग्र बहाल प्रणालीलाई आफ्नै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ । यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

४) यातायात तथा ट्राफिक

यातायात प्रणालीलाई प्रभावकारी रुपमा व्यवस्थापन गरेर सडक सुरक्षाको प्रत्याभूति गराउनुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

५) नदी सफाइ

महानगरपालिका भएर बग्ने नदी र खोलाहरूलाई नियमित र प्रभावकारी रुपमा सरसफाइ गर्ने योजनाअन्तरगतका ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

६) डुबान समाधान

ढल प्रणालीको नियमित र प्रभावकारी सरसफाइ गरेर सतह पानीको प्रवाहलाई नियमित गरेर सहरमा हुने डुवान व्यवस्थापन गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

७) ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण

यस योजनाको उद्देश्य महानगरमा सञ्चालनमा रहेका ढुङ्गेधारा, हिटी र पोखरीहरूको नियमित सरसफाइ गरेर जीवन्त बनाउनु हो । यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

८) स्मार्ट टोल

यस योजनामा महानगरपालिका भित्रका टोल विकास समितिहरूको पुनस्थापना गरेर उनीहरूमार्फत तोकिएबमोजिमका स्मार्ट टोल निर्माण गर्ने क्रियाकलाप सञ्चालन हुन्छन् । यसका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

९) सांस्कृतिक सहर

यस योजनामा महानगरपालिकाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूलाई उजागर गर्ने, पुनर्ताजगी गर्ने यसका मुख्य क्रियाकलाप हुन् । यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

१०) सम्पदा मर्मत तथा संरक्षण कार्य

सबै सम्पदा क्षेत्रको नियमित मर्मत, सम्भार र सुन्दरताका लागि स्वचालित प्रणाली विकास गर्नु यसको मुख्य क्रियाकलाप हो । यसका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

११) सुन्दर महानगर

यस योजनाअन्तर्गत सडक, सडकपेटी, पर्खाल, कार्यालय, पार्कलगायत सार्वजनिक ठाउँहरुको सुन्दरता बढाउने क्रियाकलाप सञ्चालन गरिनेछन् । यसका लागि लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले जारी गरेको १० वटा गौरवका र २५ वटा स्वर्णिम योजनाहरू कस्तो लाग्यो र यसले रियल स्टेट क्षेत्रमा कस्तो प्रभाव पार्ला कमेन्ट गर्न नभुल्नुहोला । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It