Research

मौलिक नेवारी शैली जोगाउने भूत गाउँ ‘बन्दीपुर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । आधुनिक शैलीका घर बनाउने होडमा हिजोआज नेपाली परम्परागत घरहरू हराउँदै गएका छन् । यद्यपि, तनहुँको बन्दीपुर क्षेत्र आधुनिकताको अपवाद र पुरानो आर्किटेक्चरको साक्षी बनेको छ ।

बन्दीपुर बजारमा मौलिक नेवारी शैलीका थुप्रै परम्परागत घरहरू छन् । जसले नेवारी शैलीका परम्परागत घरहरूको झल्को मेटाइरहेको छ । 

बन्दिपुर बजार करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षण हो । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् ।

१८ औं र १९ औं शताब्दीमा बन्दिपुर भारत र तिब्बत बीचको एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । व्यापारीहरू कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दिपुरको बाटो प्रयोग गर्दथे । 

यस्तै मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका थियो बन्दिपुर ।

‘भूत गाउँ’ देखि ‘टुरिजम सिटी’

वि.सं. २०२४ सम्म तनहुँको सदरमुकाम बन्दिपुर थियो । २०२५ मा बन्दिपुरबाट तनहुँको सदरमुकाम दमौली सारियो । सदरमुकाम सरेपछि बन्दिपुर सुनसान बन्यो । 

२०५० सम्म आइपुग्दा सुन्दर बन्दिपुर बजार खण्डहरमा परिणत भयो । त्यतिबेला बन्दीपुर ‘डेड सिटी’ अर्थात् ‘मृत शहर’ भनेर समेत चिनिएको थियो । 

कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका थिए । तर, पछि फेरि बन्दिपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दिपुरको विकासका लागि पुनः पहल गरे । 

२०६३ पछि बन्दिपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो । यसपछि क्रमशः बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगियो ।

सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको ‘रिनोभेसन’ शुरू गरिएको थियो । त्यसपश्चात् पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा सुन्दर डिजाइन र आकार दिएर सिँगारियो । 

बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दिपुरकै स्लेट ढुङ्गा छापिए । उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँड्न सहज बनाइयो । बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइयो । 

सवारीसाधन रहित बन्दिपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन्, जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै खानपिन गर्न सकिन्छ ।

परम्परागत घरमा काठका बुट्टा भएका झ्याल, ढोका, तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आर्कषण हो । यसलाई जोगाइ राख्न बन्दीपुर गाउँपालिकाले पहल गर्दै आएको छ । जसका लागि गाउँपालिकाद्वारा मौलिक घरलाई संरक्षण गर्दै आधुनिक घर निर्माणमा प्रतिबन्ध गरिएको छ । 

यहाँ घर बनाउनेलाई सटर तथा च्यानलगेट राख्न र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ । यसरी घर बनाउनेको नक्सापास रोकिदिने गरिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It