News

किर्ते गरी प्रहरी प्रतिष्ठानको जग्गा हत्याउने सुरमा मालपोत कार्यालयका पूर्व नायबसुब्बा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास भएको खुलेको छ । जग्गा हत्याउन खोज्नेमा सोही क्षेत्रका स्थानीय पुष्करबहादुर बस्नेत रहेको खुलेको  छ । 

वन क्षेत्रमा पर्ने उक्त जग्गा नामसारी गर्न नमिल्ने भएकाले २०५२ सालमा नेपाल सरकारले भोगचलनका लागि प्रहरीलाई दिइएको थियो । 

पनौती नगरपालिका– ६ मा पर्ने उक्त जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । ३६ रोपनी २ पैसा क्षेत्रफलको सो जग्गा हत्याउन मालपोत र नापी कार्यालयकै कागजपत्र किर्ते भइसकेको छ । मालपोत कार्यालयका पूर्व नायबसुब्बा समेत रहेका बस्नेतले सो जग्गा आफ्नो नाममा दर्ताको माग गरी हाल सर्वोच्चमा समेत मुद्दा दायर गरेका छन् । 

सरकारी जग्गा जोगाउने जिम्मेवारी प्रहरीको पनि भएकाले सो जग्गालाई बचाउन आफूहरू लागेको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान जनाएको छ ।  

बस्नेतले अदालतलाई समेत भ्रममा पारी सरकारी जग्गा किर्ते गरी सच्याएको फर्जी कागजपत्र बनाएर जग्गा हत्याउन खोजेको प्रहरीले जनाएको छ । नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो । नापी फर्म नम्बर १ क्षेत्रीय किताबमा पटक-पटक सच्याइएको छ । 

जग्गाको लगतसमेत केरमेट भएको छ । तत्कालीन फरेस्टर बेचन चौधरीको समेत हस्ताक्षर किर्ते भएको जनाइएको छ । सरकारले सो जग्गा प्रहरीलाई दिएकोमा सरकारी कागजपत्रमा भोगहकसमेत मेटाइएको प्रारम्भिक छानबिनबाट खुलेको छ । 

बस्नेतले जग्गा हत्याउन अंशबन्डाको घुमाउरो तरिका प्रयोग गरेको प्रहरीले जनाएका छन् । बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा उक्त जग्गासमेत दाबी गरी अंश मुद्दा दायर गर्न लगाएका थिए । 

जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ । 

अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी २०७४ मा मालपोत गएका थिए । तर, वनको जग्गा र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न नमानेपछि त्यसविरुद्ध हाल सर्वाेच्चमा मुद्दा दायर गरेका छन् । प्रहरीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको हो । 

जग्गा आफ्नो भएको दाबीका लागि बस्नेतले जग्गाको तिरो तिरेको प्रमाण पेस गरेका छन् । सो तिरो अर्को १२ रोपनीसँगैको जग्गाको भएको मालपोत कार्यालयले जनाएको छ । 

नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर चाहार (जंगल भएको जग्गा) भन्ने उल्लेख छ । सो जग्गा २०५२ सालदेखि नै प्रहरीले रोक्का राख्दै आएको छ । 

३६ रोपनी जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It