News

एनएमबी बैंकले १५ वर्षका लागि घर कर्जाको ब्याजदर घटायो

Pinterest LinkedIn Tumblr

काठमाडौं । एनएमबी बैंकले घरकर्जा सम्बन्धी नयाँ ब्याजदरको योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो । 

बजार उतारचढाव वा ब्याजदरमा परिवर्तन भएपनि मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहने बैंकका रिलेसन मेनेजर श्रीजेस बज्राचार्यले बताए । महङ्गो ब्याजदरका कारण घर तथा अपार्टमेन्ट खरिद गर्न नसकेकाहरूलाई लामो अवधिका लागि कम र अनुमानित ब्याजदर ऋण लिनमा मद्दत पुग्ने उनको भनाइ छ । 

वाणिज्य बैंकहरूले ऋणको औसत ब्याजदर १३.०३ प्रतिशत लिइरहेका छन् । कतिपयले त १४ देखि १५ प्रतिशतसम्म ब्याजदर कायम गरेको अवस्था छ । यस्तोमा एनएमबी बैंकको १५ वर्ष कुनै घटबढ नहुने ११.९९ प्रतिशतमै घरकर्जा दिने निर्णयले घरजग्गा खरिदकर्तामा उत्साह थपेको बज्राचार्यको दावी छ । 

यो घर कर्जा २५ देखि ६५ वर्ष उमेरका  तलबी, रेमिटेन्स, स्वरोजगार सहित व्यापार व्यवसायमा लागेका नेपाली नागरिकलाई लक्षित गरिएको छ । ऋणीले अधिकतम रकम १ करोड ५० लाख रुपैयाँ आवासीय घरजग्गा, अपार्टमेन्ट वा घर निर्माणमा उपयोग गर्न सक्नेछन् । 

बज्राचार्यका अनुसार ऋणका लागि धितो मूल्यांकन (एलटीभी अनुपात) काठमाडौं उपत्यका भित्र र बाहिरको हकमा समान ६० प्रतिशतसम्म हुने छ । उनी भन्छन् ‘घर खरिद गर्ने ग्राहकलाई ७० प्रतिशतसम्म एलटीभी दिइनेछ र घर निर्माणको हकमा निर्माण लागतको ८० प्रतिशत बैंकले दिने छ । 

कर्जाको लागि पेश भएको सम्पती बैंकले रोक्का गर्नसक्ने भएकाले मापदण्डको उचित पालना गर्नुपर्नेछ । अर्थात् घरसँग अनिवार्य १० फिट बाटोको पहुँच हुनुपर्ने र नजिकमा कुनैपनि विद्युतको हाइटेन्सन हुनु हुँदैन । 

स्थिर घरकर्जा योजनाअन्तर्गत सेवाग्राहीले आफू कुनै संस्थामा रोजगारी गरिरहेको भए सोबाट भएको आम्दानीको तीन महिना यताको बैंकिङ गतिविधि पेश गर्नुपर्छ ।

स्वरोजगारको हकमा व्यवसाय दर्ताको प्रमाणपत्र, आम्दानीको स्रोत, पछिल्लो ३ वर्षदेखि व्यवसाय गरिरहेको प्रमाण र बैंकिङ गतिविधि आवश्यक पर्छ । 

त्यस्तै, व्यापार व्यवसाय गर्नेको हकमा कम्पनीको पछिल्लो अडिट गरिएको वित्तीय विवरण, बैंकिङ गतिविधि, व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता को प्रमाणपत्र आदि आवश्यक पर्छ । 

घर किन्न वा बनाउन कर्जा लिन आवश्यक कागजात जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्सा पास भएको कागजात, ब्लु प्रिन्ट र ट्रेस म्याप बुझाउनुपर्छ । 

निर्माण सम्पन्न घर खरिदका लगि भएमा निर्माण सम्पन्न प्रमाणपत्र आवश्यक हुन्छ । त्यसबाहेक बैंकले ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी, पासपोर्ट साइजको केही फोटोहरू आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It