Lifestyle

नेवारी समुदायको अनौठो पर्व म्हः पुजा र गोवर्धन पुजा

Pinterest LinkedIn Tumblr

काठमाडौं । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरी मनाइन्छ । गोवर्द्धन पूजाको दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गरिन्छ । कृषक समुदायले आजको दिन वर्षभरी खेतबारीमा कामको सहयोगी गोरुलाई निष्ठाका साथ पूजाआजा गर्ने गर्दछन् । 

एक किम्बदन्ती अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मान्यता छ । 

कृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेको
भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको

गोबर्धन पूजा सकिएपछि देउसी खेल्ने चलन छ । देउसीमा नाचगान गरी घरघरमा सिदा र आशिष बाँड्ने प्रचलन रहेको छ । देउसी खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको मान्यता छ । विविध देवीदेवताको पूजा आरधना र देउसी भैलोका कारण पनि तिहारलाई विशेष महत्व दिइन्छ । 

देउसेहरूले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् । लक्ष्मीपूजाका दिन भैलो खेलिन्छ भने गोरु पूजाका दिन देउसी खेल्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।

म्हः पूजा

आजको दिन नेवार समुदायमा म्हः पुजा मनाउने प्रचलन रहेको छ । कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन मनाइने म्हः पूजामा आफ्नै शरिरको पूजा गरिन्छ । नेवारी भाषामा म्हः को अर्थ शरीर भएकाले हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्दछन् । 

अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर म्हः पूजा गरिन्छ । त्यसमा परिवारका सबै सदस्यहरू भेला भइ मण्डलमा बसि आफैले आफ्नो पुजा गरि विभिन्न परिकार राखेर आफैंलाई भोजन गराइन्छ । 

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व-ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको हुन्छ । र,  यस्तो अभुतपूर्व शरिर नै परमेश्वर इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । 

अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्ह: पूजाको दार्शनिक पक्ष रहिआएको छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It