Development

९ अर्ब ७० करोडमा बनेको नयाँ संसद भवन उद्घाटन

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद्को भवन उद्घाटन गरेका छन् । विपक्षी दलहरूको बिरोधका बीच मोदीले संघीय राजधानी नयाँ दिल्लीमा नयाँ संसद् भवनको उद्घाटन गरेका हुन् ।

विपक्षीहरूले नयाँ संसद् भवनको उद्घाटन राष्ट्रपतिले गर्नुपर्ने आग्रह गरेका थिए । यद्यपि मोदीले सो प्रस्ताव अस्वीकार गर्दै आइतबार भवनको उद्घाटन गरे । जसकारण विपक्षीहरू उद्घाटन कार्यक्रममा उपस्थित थिएनन् ।

उद्घाटनका क्रममा मोदीले भारतको स्वतन्त्रताका लागि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ऐतिहासिक दिनलाई स्मरण गर्नेगरी ७५ रुपैयाँको सिक्का सार्वजनिक गरेका छन् ।

भारतमा बेलायती औपनिवेशिक कालमा निर्माण भएका भवनहरूको वास्तुकलालाई परिवर्तन गर्ने र भारतीय पहिचान सहितका आधुनिक भवनहरूको निर्माण गर्ने उदेश्य यो परियोजना अघि सारिएको थियो । सोहि परियोजना अनुरूप संसद भवन निर्माण भएको हो । 

त्रिकोणात्मक आकारमा बनेको चार तले भवन निर्माणका लागि ९ अर्ब ७० करोड भारु खर्च भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । संसद भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीले नै गरेका हुन् । 

हालको संसद्‌ भवनमा पुरानोको तुलनामा धेरै सिट क्षमता रहेको छ । यसमा लोकसभा कक्षमा ८८८ र राज्यसभा कक्षमा ३०० सदस्य बस्न सक्छन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा १ हजार २ सय ८० सांसद बस्न सक्छन् । पुरानो संसद भवनमा लोकसभामा ५५२ र राज्यसभा २५० सदस्य बस्न मिल्ने थियो ।

नयाँ संसद् भवनमा महाराष्ट्रको नागपुरबाट सागौनका काठ, राजस्थानको सरमाथुराबाट रातो र सेतो बलौटे ढुंगा, उत्तर प्रदेशको मिर्जापुरीको गलैँचा, त्रिपुराको बाँसको फर्शलगायत स्थानीय सामग्री प्रयोग गरिएको जनाइएको छ ।

नयाँ संसद् भवनले भारतको विविध संस्कृति झल्काउँछ । संसद्‌को तल्लो सदन लोकसभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूर जस्तै डिजाइन गरिएको छ भने माथिल्लो सदन राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमल जस्तै डिजाइन गरिएको छ । 

भवनको भित्तामा ‘अखण्ड भारत’को नक्सा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It