Development

२ अर्ब लागतमा नयाँ संसद भवन सजाइँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गर्ने भएको छ । करिब ७ अर्ब लगानीमा बन्ने संसद भवनमा इन्टेरियरसहित कन्फ्रेन्स र सेक्युरिटी सिस्टमको ठेक्का केसी/श्याम सुन्दर/बानियाँ जेभीले पाएका छन् ।

ठेक्का अन्तरगत संसद भवनभित्रको सजावट टेबल, कुर्सी, सोफासहितका फर्निचर तथा अडियो/भिडियो र सेक्युरिटी सिस्टम जडानको काम हुनेछ । 

इन्टेरियरको काम सम्पन्न गर्न करिब एक वर्ष र अन्य सिस्टम जडानका लागि करिब ६ महिना समय लाग्ने अनुमान छ । हालसम्म संसद भवन निर्माणको काम ६० प्रतिशत मात्रै सकिएको छ । 

नयाँ संसदको भवन बनाउन १६ असोज २०७६ मा टुन्डी शेक जेभीसँग ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । तर पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । थपिएको म्याद असारसम्म रहेको छ ।

१ सय ७३ रोपनी ८ आनामा निर्माणाधिन संघीय संसदमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक हल बन्दैछ । जहाँ ४०० सिट क्षमताको सभाहल र ३०० सिट क्षमताको बालकोनी हुनेछ । 

यस्तै राष्ट्रियसभा हलमा ९० र बालकोनीमा २०० गरी २९० सिट क्षमताको हल तयार हुनेछ ।

३५० सिट क्षमताको संयुक्त लबि र साना ठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक कक्ष बनाइँदैछ । 

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिंदैछ ।

हरेक कार्यकक्षमा २५ सिटको बैठक हल पनि हुनेछ । संघीय संसद परिसरमा पुस्तकालय र क्यान्टिन समेत तयार हुँदैछ । यी भवनसहित पूर्वाधारको साजसज्जाको काम नयाँ ठेक्कामार्फत गरिनेछ ।

हाल सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको पूर्णसदनका काम कारबाही सञ्चालन गरिरहेको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It