Market

नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै, कुन देशमा कति नेपाली पुगे ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १ हजार २२५ जनाले नेपाली नागरिकता त्याग गरेको पाइएको छ । बसाइँसराइका साथै वैदेशिक रोजगारी र अध्ययनका लागि गएर स्थायी बसोबास गर्ने प्रवृत्ति बढेसँगै नागरिकता त्याग्नेको संख्या बढेको हो ।

गृह मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपाली नागरिकता त्याग गर्नेहरू २३७ जना थियो । जुन हालको तुलनामा पाँच गुणाले कम हो । 

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा मात्र झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट बाहिरिएका थिए । नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ । 

२०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ । त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ । त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन् ।

अस्थायी बसोबासको अनुमतिपत्रसहित कति विदेश गए ?

अध्यागमन विभागका अनुसार २४ हजार ८ सय भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित अघिल्लो वर्ष अस्ट्रेलिया गएका थिए । 

अस्थायी बसोबासको अनुमतिपत्रसहित जापान जानेको सङ्ख्या २१ हजारभन्दा बढी र संयुक्त राज्य अमेरिका जानेको सङ्ख्या ८ हजार ४ सयभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।

उक्त सूचीमा यूके र नर्दर्न आयरल्याण्डमा ७ हजार १ सय भन्दा बढी नेपाली अस्थायी बसोबासका लागि पुगेका छन् । 

किन बढ्यो नागरिकता त्याग गर्नेको संख्या? 

नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या बढेको गृह मन्त्रालयले जनाएको छ । नयाँ संविधान अनुसारको नागरिकता ऐन बनेपछि गत वर्षको असोज ३० गतेबाट नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।

हाल एनआरएनले नागरिकता लिन पहिलेको नेपाली नागरिकता त्याग गर्नुपर्छ । त्यस कारण पनि नागरिकता त्याग गर्नेहरूको सङ्ख्या बढी देखिएको हो । मन्त्रालयका अनुसार  विगत १० महिनामा २ हजार ५५४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । 

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्ने र गैरआवासीय नेपाली नागरिकता लिनेहरूको सङ्ख्या अद्यावधिक हुने क्रममा रहेकाले त्यस्तो सङ्ख्या अझै बढी हुनसक्ने मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले सबैभन्दा धेरै गैरआवासीय नेपाली नागरिकता काठमाडौंबाट जारी भएको जनाएको थियो । गैरआवासीय नेपालीहरूले आफ्नो पुरानो नेपाली नागरिकता जारी भएकै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने नियम छ । 

नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ । नेपालमा रोजगारी भए पनि जीविकोपार्जनका लागि पर्याप्त नभएका कारण पनि मानिसहरू विदेशिने क्रम देखिन्छ । कतिपय ठाउँमा तलब कम भएपनि सामाजिक सुरक्षा राम्रो भएकाले  मानिसहरू विदेशिने क्रम अलि कम हुन्छ । तर यहाँ त्यसको पनि अभाव छ । 

त्यस्तै पछिल्लो समय नेपाली समाजले विदेशमा जाने कुरालाई सामाजिक प्रतिष्ठाको विषय बनाएको छ । भने अरुको देखासिखी गरेर  विदेशिने प्रवृत्ति बढ्दै गएको छ ।  तर यसप्रति नेपालका जिम्मेवार निकायहरूले आवश्यक रणनीतिहरू बनाउन सकेको छैन ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It