Policy

काठमाडौँमा घर बनाउँदा २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाएको छ । नयाँ वर्ष २०८१ देखि लागू हुनेगरि महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागू गर्दै नक्सा पासमा पार्किङ लगायतका नियमहरू बनाएको हो ।

महानगरपालिकाले जारी गरेको मापदण्ड अनुसार दुई चरणमा नक्सापास गर्नुपर्ने उल्लेख छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरपालिकाले जनाएको छ ।

व्यवसायिक तथा अन्य ठूला भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ । भित्री सहरी क्षेत्रमा एक तला र बाहिरी क्षेत्रमा २ तला बेसमेन्ट बनाउन सकिने व्यवस्था रहेको छ । 

१७ मिटर (अधिकतम ५ तला) भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान (जिओ टेक्निकल इन्भेस्टिगेसन) गर्नुपर्ने व्यवस्था गरिएको छ । 

जुनसुकै प्रयोजनका लागि ४ आनाभन्दा धेरै क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्दा २० प्रतिशत क्षेत्रफल अनिवार्य पार्किङ प्रयोजनका लागि छुट्याएको हुनुपर्नेछ ।

५ हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडाबाटै र सोभन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा महानगरबाट स्वीकृति लिनुपर्ने छ । १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफल भएका भवन मूल्यांकनबाट स्वीकृत गरिने संहितामा उल्लेख छ ।

काठमाडौं महानगरपालिकामा भवन निर्माणका लागि आवेदन इलेक्ट्रोनिक बिल्डिङ्क परमिट सिस्टम (इबीपीएस) बाट दिन सकिने छ । यस प्रणालीबाट आवेदन दिइसकेपछि बायोमेट्रिक गर्नबाहेक अरु प्रक्रियाका लागि कार्यालय जानुपर्दैन

भवन निर्माण मापदण्डको उपक्षेत्र कुन कहाँ ?

भवन निर्माण मापदण्डले पुरानो सहरी क्षेत्र र स्थानको प्रकृतिलाई आधार बनाएर ४ उपक्षेत्र तोकेको छ । यसमा पहिलो संरक्षित स्मारक उपक्षेत्र हो । 

पुरातात्विक सांस्कृतिक सम्पदा भएका सात वटा वडाहरू (६, ८, १५, १९, २३, २४ र २५) यसमा पर्छन् । कुमारी रथ यात्रा हुने मार्गसँग सम्बन्धित सात वटा वडाहरू (१२, १७, १८, २१, २४, २५ र २७) लाई संरक्षित उपक्षेत्रमा राखिएको छ ।

पुरानो बसोबास भएका १४ वटा वडाहरू (११ देखि २७ वडाहरू) लाई मिश्रित पुरानो बसोबास उपक्षेत्रमा राखिएको छ । 

त्यस्तै, हाँडीगाउँको प्राचीनता बचाउन यस क्षेत्रलाई हाँडीगाउँ संरक्षित उपक्षेत्रमा राखिएको संहितामा उल्लेख छ ।

त्यसैगरी, आवासीय क्षेत्रलाई व्यापारिक,  मिश्रित बसोबास, आवासीय उपक्षेत्र र योजनाबद्ध आवासीय उपक्षेत्र गरी ४ उपक्षेत्रमा बाँडिएको छ । 

पहिलो र दोस्रो उपक्षेत्रमा १३ वटा वडाहरू (१, ११, १२, १७, १८, १९, २०, २१, २६, २७, २८, २९ र ३०) लाई राखिएको छ । तेस्रो उपक्षेत्रमा १६ वटा वडाहरू (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, २१ र ३२) लाई राखिएको छ ।

चौथोमा उपक्षेत्रमा वडा नं. ६ को बागमती नगर योजना, वडा नं. ९ को तिलगंगा जग्गा विकास, वडा नं. १४ को कुलेश्वर जग्गा विकास, वडा नं. १५ र १६ मा पर्ने चमती र नयाँ बजार जग्गा विकास र वडा नं. ३२ मा पर्ने मनोहरा र सिनामंगल जग्गा विकास कार्यक्रमभित्रको क्षेत्रलाई राखिएको छ । 

पार्किङ, सेटव्याक, (फ्लोर एरिया रेसियो) फार लगायतका सुविधा उपक्षेत्रका आधारमा फरक फरक छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It