काठमाडौं । ‘स्मार्ट सिटी’ आधुनिक शहरको अवधारणा हो, जहाँका पूर्वाधार निर्माणमा अत्याधुनिक प्रविधिको अधिकतम उपयोग गरिएको हुन्छ । कतिपयले ‘स्मार्ट सिटी’ भन्ने बित्तिकै कुनै अर्कै खालको दुनियाँ लाग्ने सहर जस्तो व्याख्या गर्ने गरेको भएपनि, त्यस्तो असामान्य सहर भने होइन । देश र परिवेशअनुसार फरक हिसाबले स्मार्ट सिटीको परिकल्पना गरिन्छ, तर यसको सारमा भने समानता हुन्छ ।
कस्तो हुन्छ ‘स्मार्ट सिटी’ ?
स्मार्ट सिटी भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावना अनुसार फरक फरक हुन सक्छ । यद्यपि सहरको अर्थतन्त्र, प्रशासन, यातायात, वातावरण र नागरिक पनि स्मार्ट र प्रविधिमय हुनुपर्छ । त्यहाँ उपलब्ध सुविधाहरू र त्यसका उपभोक्ताहरूमा प्राविधिक हस्तक्षेप हुन्छ । अर्थात् कुनैपनि सहरलाई ‘स्मार्ट सिटी’का रुपमा स्थापित गर्न त्यहाँको अर्थतन्त्र, वातावरण, शिक्षा र स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै बिजुली, यातायात, र फोहोर व्यवस्थापन जस्ता स्रोतहरूको सदुपयोगलाई प्राथमिकता दिनुपर्छ । साथै स्मार्ट शहर परिचालनका लागि त्यहाँको सरकार, व्यवस्था र नागरिक सबै स्मार्ट हुनुपर्छ ।
सहरमा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र, र अन्य आवश्यकीय संरचनाको व्यवस्था गरिएको हुन्छ ।
स्मार्ट सिटीको अवधारणाः
स्मार्ट सिटीको अवधारणा सन् १९९० मा संयुक्त राज्य अमेरिकाका दुई कम्पनीहरू ‘इन्टरनेसनल बिजनेस मसिन्स’ र ‘सिस्को सिस्टम्स’ले स्वचालित प्रक्रियामा आधारित आदर्श सहर निर्माण गर्ने उद्देश्यअनुरूप सर्वप्रथम अगाडि बढाएका हुन् । यस अवधारणाले भौतिक पूर्वाधारहरू, जस्तै; भवन, संरचना निर्माण र सडक सञ्जाललाई मात्र जोड नदिई जनताको गुणस्तरीय जीवन, समानता र सक्षमता सुधारमा समेत ध्यान दिने गर्छ । यसले राजनीतिज्ञ, सार्वजनिक अधिकारी र नागरिक समूहबीचको प्रत्यक्ष सम्बन्धलाई मजबुत तुल्याउँदै सामाजिक विकास र स्थानीय प्रजातन्त्रलाई स्थिरतासँग जोड्ने काम गर्छ ।
स्मार्ट सिटीको प्रमुख आधार सूचना, संचार र प्रविधि नै हुन् । यी तीन प्रमुख तत्त्वको उचित प्रयोग गरेर शहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’ को प्रमुख अवधारणा हो ।
शहरको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा सुधार ‘स्मार्ट सिटी’ को लक्ष्य हो । स्मार्ट सिटी हुनका लागि विशेष मापदण्डहरू नभए तापनि सहर प्रविधियुक्त हुन जरुरी हुन्छ । स्मार्ट सिटीको उद्देश्य सामाजिक, सांस्कृतिक र सहरी विकासलाई सबल बनाउन तथा आर्थिक र राजनीतिक सक्षमतामा सुधार गर्न सञ्जालीकृत पूर्वाधारको प्रयोग गर्नु हो ।
स्मार्ट सिटीको विशेषताहरू
- यस्ता सिटीमा निजीलाई भन्दा सार्वजनिक सवारीका साधनलाई बढी प्राथमिकता दिइन्छ र यहाँ पनि सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुन्छ ।
- यस्ता शहरमा कुनै सवारी दुर्घटना भए बटन थिचेपछि उद्धारका लागि सूचना सम्बन्धित निकायमा जान्छ । यसबाहेक, सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिन्छ र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिन्छ ।
- अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुन्छ । पार्किङका लागि मानिसहरूले यताउता भौतारिनु पर्दैन । कुन चाहिँ पार्किङ स्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाइन्छ ।
- स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुन्छ । चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन । घरमै बसेर विशेषज्ञ उपचार हासिल गर्न सकिन्छ । त्यसैगरी, सडकमा विशेषखाले बत्ती हुनेछ, जसको चमक साँझ, राति र बिहानमा आवश्यक अनुसार फरक–फरक हुन्छ ।
- हरेक घरमा पानी र बिजुलीको खपत कति भैरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिन्छ ।
- यस्ता सहरमा फोहोर व्यवस्थापन पनि अत्याधुनिक हुन्छ । शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भनेर हेर्न समेत सकिन्छ ।
नेपालमा कसरी गरियो स्मार्ट सिटीको परिकल्पना ?
हालसम्म नेपालका कुनै पनि शहर ‘स्मार्ट’ छैनन् । यसको अवधारणा आर्थिक वर्ष २०७२-०७३ मा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा सार्वजनिक गरिएको थियो । हाल राजनीतिक घोषणापत्र तथा नेताको भाषणमा यो दोहोरिरहने गरेको छ । नीति तथा कार्यक्रम तथा बजेटमा पनि स्मार्ट सिटीको अवधारणा अघि सारिएको भएता पनि स्मार्ट सिटी स्थापित हुन सकेको छैन ।
सरकाले देशका विभिन्न स्थानमा नयाँ शहर र स्मार्ट सिटी बनाउने घोषणा गरको दशकौँ भैसकेको छ । सरकारले आर्थिक बर्ष ०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङटा र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । आव ०७४/७५ मा १० वटा स्मार्ट सिटी थपेर १० पुर्याइएको थियो ।
हाल सरकारले देशका अन्य सडकसँग जोडिएका तथा हिमाल पहाड र तराईमा सन्तुलित विकास गर्ने गरी देशभर ५४ वटा नयाँ शहर बनाउने काम सुरु गरेको छ ।