सुन्नुहोस्ः
काठमाडौं । उपत्यकाका तीन जिल्लाहरू; ‘काठमाडौं, ललितपुर र भक्तपुर’ धार्मीक तथा सांस्कृतिक महत्वले भरिपूर्ण मानिन्छन् । नेवा समुदायको बाहुल्यता भएको यस क्षेत्रमा विशेष महत्वका साथ मनाइने चाड हो इन्द्रजात्रा ।
ईन्द्रजात्राः
इन्द्रजात्रा हरेक वर्ष भाद्र द्वादशीदेखि आश्वीन कृष्ण चतुर्दशीसम्म ८ दिन मनाइन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘येँया पून्हि’,भनिन्छ । ‘येँ अर्थात् काठमाडौं र या अर्थात् जात्रा भन्ने हुन्छ । नेवा समुदायले इन्द्रजात्रा वर्षा र सहकालका देवता मानिने देवराज इन्द्रको पुजा आराधना गरि मनाउँदछन् ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाका लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिन्छ । उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ‘योंसी’ समेत भनिन्छ । उक्त लिङ्गोलाई बसन्तपुर दरवार स्क्वायरस्थित हनुमानढोकामा अवस्थित विशाल काल-भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजा आजा गरि लिङ्गो ठड्याइएपछि ‘इन्द्रध्वजोत्थान’ सम्पन्न हुन्छ ।
आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइत पारेर बसन्तपुरमा इन्द्रध्वजारोहण भएसंगै यसवर्षको इन्द्रजात्रा विधिवत् रूपमा सुरू भइसकेको छ । भाद्र द्बादशीका दिन ३६ हात लामो लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरू हुन्छ । यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताका सजाएर राखिएको हुन्छ । लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।
लिङ्गो ठड्याउने प्रचलन:
इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरूप सानो लिङ्गो ठड्याइन्छ । यसरी ठड्याइएको लिङ्गोलाई नेवा भाषामा यम्वोःद्यो भनिन्छ । इन्द्रजात्राको सुरूवात इन्द्रले नै गरेको मान्यता रहिआएको छ । इन्द्रजात्रा पर्व उपत्यकाका किसानहरूले प्रचलन ल्याएको जनविश्वास छ ।
काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।
लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन नेवा समुदायले जिवित मान्दै आएको देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराउने चलन छ । यस दिन बेलुका रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।
पौराणिक मान्यताः
भगवान इन्द्रले आफ्नो पूजा नगर्दा धर्तिमा अतिवृष्टि गराएर खेतिबाली नाश गरिदिने, आफुप्रतिको आस्थामा कमी आउन नदिन अनावृष्टि गराएर काठमाडौं बासीलाई दुख दिने गर्दथे । एकदिन इन्द्रकी आमालाई पूजाका लागि पारिजातको फूल आवाश्यक पर्यो । कृष्ण भगवानले स्वर्गबाट पृथ्वी आउँदा पारिजातको बोट आफुसँगै लिएर आएका कारण स्वर्गमा पारिजातको फूल पाइदैन थियो । त्यसकारण इन्द्रलाई आमाले धर्तिबाट पारिजातको फूल ल्याउन आदेश दिइन् ।
आफ्नी आमाले वसुन्धराको व्रत लिएको बेला स्वर्गलोकका राजा देवराज इन्द्र आमाको व्रत र पूजाका निमित्त पारिजातको फूल र कर्कलो लिन काठमाडौं आए । मरूटोल, इन्द्रचोकतिरका बगैंचामा पारिजातको फूल ढकमक्क फुलेको देखेर इन्द्र त्यसतर्फ लागे । मालीलाई नसोधी इन्द्रले पारिजातको फूल टिप्दा त्यहाँको माली र त्यहाँका बासिन्दाले देवराज इन्द्रलाई चोरको संज्ञा दिई, तन्त्रशक्तिको प्रयोग गरेर डोरीले बाँधी मरूटोलमा लगेर राखेका थिए । इन्द्रलाई त्यसरी बाँधेको थाहा पाएर इन्द्रकी आमा स्वयं त्यस ठाउँमा पुगी छोराको बदला कुहिरो दिने वाचा गरी छोरा देवराज इन्द्रलाई लिएर गइन् ।
त्यही कुहिरोले गर्दा धानबाली समयमै पाक्न थालेको र जनजीवन सामान्य बन्दै गएको भन्ने किम्बदन्ति अझै पनि जनजिब्रोमा जीवितै छ । इन्द्रजात्राको अवसरमा हनुमानढोका क्षेत्रको श्वेतभैरवको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ ।
इन्द्रजात्रामा इन्द्रध्वजको महत्व:
पुराणमा उल्लेख भएअनुसार, प्राचीनकालमा देवता र असूरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनियो । देवासुर संग्राममा देवताहरूले विजय प्राप्त गरेपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पाएको शास्त्रीय मान्यता छ ।
पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले पनि इन्द्रजात्रा मनाउने हौसला जगाएको किम्वदन्ती छ ।
वस्त्रमा विभिन्न देवी–देवताको चित्र कुँदेर विधिपूर्वक पूजा–अर्चना गरी बनाइएको ध्वजाले राज्यमा सुख, समृद्धि कायम हुने, शत्रूनाश, मानव जातिमा स्वच्छ भावना, शूरता, वीरता आदिको वृद्धि गर्ने विश्वास छ । साथै ध्वजाको हावा जता फैलिन्छ त्यता डर, त्रासको निवारण गरी शत्रुनाश गर्छ भन्ने मान्यता छ ।
त्यसैगरी कलियुगमा देश विकास, राष्ट्रिय अखण्डता, स्वाभिमानता, विदेशी हस्तक्षेप जस्ता कार्यमा सफलता प्राप्त गर्नका लागि इन्द्रध्वजा फहराउनु आवश्यक मानिन्छ ।
ऐरावत हात्ती जात्रा:
इन्द्रजात्राको अन्तिम दिन भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा मनाइन्छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछे., दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोकालगायतका स्थानको परिक्रमा गर्ने चलन छ ।
भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले तयार गरेको पुलुकिसीलाई निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखी बनाइन्छ । पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको आकाश भैरवलाई बलिसहितको पूजा सम्पन्न गरिसकेपछि जात्रा शुरु गरिन्छ । पुलुकिसी आएको सङ्केत दिन पुलुकिसीको तल घण्ट झुण्ड्याउने गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीको घण्ट बजाएर आउने गर्छन् ।
भाद्र द्बादशीका दिन ठड्याइएको लिङ्गो जात्रा सुरू भएको ८ दिन पछि अर्थात् आश्वीन कृष्ण चतुर्दशीका दिन वसन्तपुरमा लगेर इन्द्रध्वज फहराई, लिङ्गो ढालिन्छ । र बाग्मतीमा बिसर्जन गरेपछि जात्रा औपचारीक रूपमा समापन हुन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।