नौरथामा नभइ नहुने पूजा सामग्री के-के हुन त !

काठमाडौं । नौरथा, नवरात्र अथवा नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ । हिन्दु धर्ममा नवरात्रिको ठूलो महत्व छ । त्यसोहुँदा नवरात्रिका लागि विशेष पूजा सामग्री तयार गर्नु पनि उत्तिकै आवश्यक छ ।
भनिन्छ, कुनै पनि पुजा पूर्ण अनुष्ठान र सच्चा मनले गरे मात्रै सफल हुन्छ । उचित सामग्रीको प्रयोगले मात्र पूजालाई पूर्णता दिने धार्मिक विश्वास छ । आज हामी नवरात्रिमा नवदुर्गाको पुजा आराधना गर्न आवश्यक सामग्रीहरूको चर्चा गर्दैछौं ।
नवदुर्गा पूजा सामग्रीः
नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्म गरेर शुद्ध भई शुद्ध माटो वा बालुवा, गोबर, गंगाजल, नव दुर्गाको फोटो वा मूर्ति, धान, चामल, कुश, दुना, टपरी, माटाको घडा, अबिर, केसरी, सिन्दुर, जौ, तिल, चन्दन, दियो र बत्ती, कपुर, अगरबत्ती, पान, जनै, सुपारी तयार गरि घटस्थापना गरिन्छ । र दुर्गाको आह्वान गरि मन्त्र पढ्दै दूध, दही, घ्यू, मह फूल, माला, नैवेद्य, आँप, चाँप, पिपलको पात, पान, सौभाग्य वस्त्र, नरिवल, पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि जस्ता रत्नहरूले नवरात्रिको नवौ दिनसम्म दुर्गाका विभिन्न स्वरूपको पूजाआराधना गरिन्छ ।
फूलपातीका दिन आवश्यक सामग्रीहरू
नवरात्रिको सातौं दिन केराको पात, उखु, दारिम, धानको बोट, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीको पात लगायत अन्य नयाँ पालुवा तयार गरि फूलपाती भित्र्याइन्छ । यसरी फूलपाती भित्र्याउँदा घरमा सुख समृद्धि, स्वास्थ्य र धन प्रवेश गर्ने जनविश्वास छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।
अष्टमीका दिन आवश्यक सामग्रीहरू
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्वमा देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि दिनेहरूले पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गर्छन् । र पशुबलि नदिनेहरूले आज पूजाकोठामा आ-आफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Latest Posts
Fresh reads from Basobaas









