Lifestyle

विश्वकर्मा पुजाको दिन किन गरिन्छ त पार्टपूर्जा, यन्त्र, फलाम आदिको पुजा ? 

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

 

काठमाडौं । विश्वकर्मा पूजा, देशभर विभिन्न मेसिनरी सामग्री तथा फलामको पूजा गरेर मनाइन्छ । वर्षात् ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजाका रुपमा मनाउने गरिन्छ । आजको दिन हिन्दु धर्मावलम्बीहरू विश्वकर्मा बाबाको पूजा आराधन गरि श्रद्धा भक्ति गर्ने गर्दछन् । आजकै दिन विभिन्न कलकारखाना, पार्टपुर्जा, यन्त्र, फलाम आदिको पूजाआजा गरिन्छ । आज हामी, विश्वकर्मा पूजाको अवसरमा फलामबाट निर्मित सामग्रीको पूजा गर्नुका रहस्यको चर्चा गर्दैछौँ । 

असोज १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण, प्रविधि, उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । भगवान विश्वकर्माको जन्म जयन्तीको अवसरमा कलाकार, शिल्पकार, औद्योगिक घराना, व्यापारी र मेसिन तथा फलामका उपकरण चलाउने मजदुरहरूले धुमधामका साथ मनाउँदछन् । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरू बताउँछन् ।

विश्वकर्मा भगवान को हुन् ?

पौराणिक मान्यता अनुसार महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई नयाँ दुनियाँ निर्माणको आदेश दिए । ब्रह्माको आदेश अनुरूप विश्वकर्माले स्वर्ग, पुष्पक विमान, दैनिक उपभोग्य सामान निर्माण गरे भन्ने गरिन्छ । त्यस्तै इन्द्रको बज्र, शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र कृष्णको द्धारिका, सुनको लङ्का बनाएको मान्यता छ । बाबा विश्वकर्मा महान् आध्यात्मिक थिए जसले नयाँ विश्वको निर्माणमा आफ्नो योग्यता र दक्षता प्रयोग गरेका थिए । 

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए । भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लङ्का, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् । 

अलङ्कारको महत्व

विश्वकर्मा भगवानको हातमा विभिन्न अलङ्कारहरू देखाइएको छ । ति अलङ्कारको भिन्नाभिन्नै महत्व छ । उनको एउटा हातमा शास्त्र देखाइएको छ । जसले उनको विचार कति श्रेष्ठ र महान् थिए । उनी कति ज्ञानी थिए भन्ने बुझिन्छ । उनको दोस्रो हातमा डोरी देखाइएको छ । जसले जीव आत्माभित्र भएका अनेकतालाई एकतामा बाँध्नका लागि एक आध्यात्मिक व्यक्तिमा स्नेह, शुभ भावना र प्रेम हुनुपर्दछ तब मात्र सम्पुर्ण जीवआत्मालाई एकताको सुत्रमा बाध्न सकिन्छ भन्ने भाव दिन्छ ।  

विश्वकर्मा पुजा

त्यस्तै हतौडाले मनुष्यको आत्माभित्र भएको नकारात्मक प्रवृतिलाई हतौडाले हानेर एक महान व्यक्तित्व निर्माण गर्न सकिने भाव दिन्छ । कमण्डलुले त्याग र तपस्यालाई जनाउँदछ । भगवान विश्वकर्मासँग आध्यात्मिक विवेकशुन्य भएका विवेकहिन, मन्त्रहिन र सत्कर्महिन भएका जीवात्मालाई मुर्छाबाट बिउँझाउने र अमृत रस छर्केर मूर्छित जिवात्मामा आध्यात्मिक प्राण भर्ने क्षमता थियो भन्ने भाव जनाउन कमण्डलु लिएको देखाइन्छ । 

हाँसलाई  पवित्रताको प्रतिक मानिन्छ । जसरी हाँसले दुध र पानीलाई अलग गर्दछ । त्यसरी नै पवित्र व्यक्तिले पाप र धैर्य, सत्य र असत्यलाई सजिलै छुट्याउन सक्दछ । आफ्नो कलालाई नव व्यक्तित्व निर्माणमा लगाउन सक्दछ भन्ने बुझाउँछ । 

 कमलको फुल अनाशकत्व र निलिप्तताको प्रतिक हो । विश्वकर्मा भगवान संसारमा रहेपनि संसारातित, देहमा रहेपनि देहातित, कर्म गरेर कर्मातित थिए भन्ने जनाउन कमलको फूल देखाइएको हो ।

 विश्वकर्माको हँसिलो मुहारले स्वर्णिम युगको झलक देखाउँछ । उनले लगाएको सेतो वस्त्रले पवित्रता र शान्तिको झलक दिन्छ । 

पार्टपूर्जा, यन्त्र, फलाम आदिको पुजा गर्नुका कारणः

विश्वकर्मा पुजा

सम्पूर्ण सृष्टिमा सृजनात्मक कर्मले जीवको जीवन सञ्चालित हुन्छ भने उनीहरु विश्वकर्मा हुन् । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । विश्वकर्माको सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गरेमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सबैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Pin It