News

अवैध क्रसर उद्योग बन्द हुँदा आयोजना समयै सम्पन्न नहुने महासंघको गुनासो

By BabinaJanuary 13, 20231 min read
अवैध क्रसर उद्योग बन्द हुँदा आयोजना समयै सम्पन्न नहुने महासंघको गुनासो

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूले लिएका आयोजना निर्माण कार्य समयमै सम्पन्न गर्न नसक्ने जनाएको छ । नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने भएको हो । 

गृह मन्त्रालयले पुस २० गते अवैध क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएको थियो । निर्देशन पाएसँगै अधिकांश जिल्लामा रहेका अवैध उद्योगमा जिल्ला प्रशासन कार्यालयले तालाबन्दी गरिदिएका छन् । मन्त्रालयको यस कदमले आयोजनाका काममा प्रभाव परेको हुँदा निर्माण सम्पन्न हुन थप समय लाग्नसक्ने महासंघले जनाएको छ ।

महासंघले विभिन्न कम्पनीलाई आफूले लिएका आयोजना निर्माण कार्य समयमै गर्न नसकिने पत्र सम्बन्धित निकायलाई लेखेर पठाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।

गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योगलगायत आम उपभोक्तामा नै गम्भीर असर परेको महासंघको दाबी छ ।

विभिन्न शक्ति केन्द्रहरूको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुने महासंघको विज्ञप्तिमा उल्लेख छ ।

अवैध क्रसर उद्योग बन्द हुँदा आयोजना समयै सम्पन्न नहुने महासंघको गुनासो

क्रसर सञ्चालनको नयाँ मापदण्डः

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताएका छन् ।

गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने उल्लेख गर्दै सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने  उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अतिआवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा समस्या भएसँगै निर्माणकार्य ठप्प जानकारी गराए ।

गृहमन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भएपछि त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको हुँदा एक वर्षको समय दिएर क्रसर उद्योगलाई वैद्य गराउन सकिने महासंघले सुझाएको छ ।

निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेसन बापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी ‘माइलस्टोन’को व्यवस्था गर्न महासंघले ध्यानाकर्षण गराएको छ ।

construction companiesFEDERATION OF CONTRACTORS’ ASSOCIATIONS OF NEPALIllegal crusher and sand processing plant

You May Also Like

More stories from Basobaas