LifestyleTips & Tricks

लिलामीका घरजग्गा किन्नु बुद्धिमानी होला ?

By BabinaJuly 31, 20233 min read
लिलामीका घरजग्गा किन्नु बुद्धिमानी होला ?

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले बेलाबेलामा घर तथा जग्गा लिलामी बिक्रीमा राखेको समाचार आइरहन्छन् । बजारमूल्य भन्दा सस्तो पर्ने हुँदा आम मानिसले लिलामीमा राखिएका सम्पत्ति किन्ने चाहना राख्नु स्वभाविक नै हो । यद्यपि ऋणको सुरक्षणका लागि धितोमा राखिएका यस्ता सम्पत्ति खरिद गर्न विशेष प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

कुनैपनि संघसंस्था वा ऋणीले तोकिएको समयसीमा भित्र लिएको ऋण वा कर्जा नतिरेमा कर्जा लिँदा सुरक्षण वा धितो बापत राखेको सम्पत्ति जफत, बिक्री गरी आफ्नो ऋणको साँवा ब्याज असुल उपर गर्ने प्रक्रियालाई लिलामी हो । 

बैंकहरूले नियम पुर्‍याएरै ऋण लगानी गर्दा ऋणको सुरक्षण धितो लिलामीमा बिक्री गर्ने भएपनि ग्राहकले स्वयम् पनि सचेत हुन जरुरी छ । 

सहकारी ऐन २०७४ को दफा ७९ मा लेखिएको छ – ‘ऋण असुली एवम् धितो लिलामीमा कुनै सदस्यले सहकारी संस्थासँग गरेको ऋण सम्झौता वा सर्त कबुलियतको पालना नगरिएमा लिखतको भाकाभित्र ऋणको साँवा ब्याज र हर्जाना चुक्ता नगरेमा वा ऋण लिएको रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेमा त्यस्तो सदस्यले ऋण लिँदा राखको धितोलाई सम्बन्धित सहकारी संस्थाले लिलाम बिक्री गरि वा अन्य कुनै व्यवस्था गरि आफ्ना सावाँ ब्याज र हर्जाना असुलउपर गर्न सक्नेछ ।’

लिलामीका घरजग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरू 

कानूनी प्रक्रिया पूरा गरेर लिलाम भएको हो/होइन बुझ्नेः

लिलामी सम्पत्ति खरिद गर्नु पूर्व लिलामी प्रक्रिया कानून बमोजिम सम्पन्‍न भएको हो होइन जाँच गर्नुपर्छ । धितो लिलाम गर्ने संस्थाले लिलाम गर्नुपूर्व दुई पटकसम्म ऋणीलाई पत्र पठाएर जानकारी दिएको छ/छैन । ऋणी तिर्न आउने बारेको ३५ दिने सूचना र अन्तिम प्रक्रियाको लागी ७ दिने सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गरेको बारेमा जानकारी लिनुपर्छ । यो सूचनाको जानकारी ऋणीले पाएको हुनुपर्छ । त्यसका लागि ऋणीको स्थायी वा अस्थायी ठेगानामा सूचनाको जानकारी पठाएको र सम्बन्धित ब्यक्तिले पत्र बुझेको हुनुपर्छ । कतिपय अवस्थामा ऋणीले पत्र बुझ्न अस्वीकार गर्छन् । त्यस्तो अवस्थामा हुलाकबाट पत्र पठाइएको प्रमाण संस्थासँग सुरक्षित छ वा छैन त्यसबारे बुझ्नुपर्छ । सम्पत्ति धनीलाई जानकारी नलिई झुक्याएर गैरकानूनी तवरबाट लिलाम गरिएको सम्पत्ति अदालतमा मुद्दा मामिला गरी बदर गराउन सक्ने हुन्छ । त्यसकारण संस्थाले नियम पुरा भएको छ छैन भनेर सम्पुर्ण जानकारी लिएर मात्र लिलामी सम्पत्ति खरिद गर्नुपर्छ ।   

एकल हकभोगको सम्पत्ति हो वा सगोलको सम्पत्ति हो हेर्नेः

लिलाम भएको सम्पत्ति ऋणीको एकल हकभोगको सम्पत्ति हो वा अंश भाग लाग्‍ने सगोलको सम्पत्ति हो, जानकार हुनुपर्छ । सँगोलको सम्पति हो भने अंश भाग लाग्‍ने हुनाले सम्पत्ति लिलाम भएमा पनि अन्य अंशियारको अंश हक जाने हुन्छ । उनीहरूले अंश हक खोजेमा कानूनले सो हकबाट वञ्चित गर्न मिल्दैन र उनीहरूले अदालतमा मुद्दामामिला गरेमा हक हिस्सा बराबरको सम्पत्ति बदर हुनसक्छ । त्यसैले सगोलको सम्पत्ति रहेछ भने लिलाम खरिद गर्दा विशेष ख्याल पुर्याउनु पर्छ ।

अन्य निकायबाट रोक्का छ की छैन जाँचबुझ गर्नेः

लिलामीको घरजग्गा खरिद गर्दा अन्य निकायबाट रोक्का भए नभएको बारेमा जानकारी लिनुपर्छ । कहिलेकहिँ एउटै घरजग्गा धेरै निकायबाट दोहोरो रोक्का भएको हुनसक्छ । यस्तो अवस्था भएमा घरजग्गा नामसारी हुन नसक्ने भएकोले लगानी फस्‍ने डर हुन्छ ।

लिलामीको कार्यविधि पूरा भएको छ वा छैन हेर्नेः

प्राय बैंक तथा वित्तिय संस्थाले लिलाम गर्नुअघि सम्पुर्ण कार्यविधिहरू पूरा गरिसकेका हुन्छन् । तर पनि बैंक तथा वित्तिय संस्थाले लिलामी सम्बन्धी प्रक्रिया सम्पन्‍न गर्दा ऐन, नियम र कार्यविधि तथा सहकारी ऐन नियमावली बमोजिम सूचना प्रवाह गरिएको थियो वा थिएन, सम्बन्धित संघसस्थाका व्यक्तिहरूको कानूनी रुपमा प्रतिनिधित्व भएको थियो वा थिएन जानकारी लिनुपर्छ । बैंक तथा वित्तिय संस्थाले हतारमा कार्यविधि पुरा नगरी लिलामी गरेको छ भने त्यस्तो लिलामी अदालतले बदर हुनसक्ने जोखिम हुन्छ । 

मूल्यको सम्बन्धमा पञ्चकृत मूल्याङ्कन भएको हो की होइन बुझ्नेः

लिलाम हुने घरजग्गा खरिद गर्नुअघि बैंक तथा वित्तिय संस्थाले लिलाम सम्पत्तिको मूल्यको सम्बन्धमा पञ्चकृत मूल्याङ्कन गर्नुपर्छ । अर्थात् सो सम्पत्तिको सरकारी मूल्याङ्कन कति छ र स्थानीयबाट चलनचल्तीको मूल्य कति छ पत्ता लगाएर त्यसको आधारमा पञ्चकृत मूल्याङ्कन गर्नुपर्छ । यी प्रकृया सम्पत्ति लिलाम गर्ने संस्थाले पुरा गरेको छ वा छैन यसबारे जानकारी लिनुपर्छ । 

लिलामीको सम्पत्ति खरिद गर्नु सामान्य सम्पत्ति खरिद गरेजस्तो सहज नहुन सक्छ । लिलामीको प्रक्रिया कानूनी कार्यविधिका कारण झन्झटिलो र लामो समय लाग्ने हुन्छ । यदि लोन लिएर लिलामीको घरजग्गा जग्गा नकिन्नु राम्रो हुन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

auction propertybuy auction propertybuying property

You May Also Like

More stories from Basobaas