Finance

बैंकहरूले कर्जा दिँदा धितो मूल्यांकन कसरी गर्छन् ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैंकबाट ऋण लिँदा अनिवार्य धितो राख्नुपर्छ । कुनै पनि कर्जामा धितो सुरक्षणका लागि बैंकहरूले ग्राहकको सम्पत्तिलाई धितोको रूपमा  राख्ने गर्छन् । धितोको रुपमा राखिने घरजग्गा तथा अन्य सम्पतिको मूल्यांकनमा बैंकहरूको आफ्नै नीति हुन्छ । 

सेयर खरिद गर्नका लागि लिइने कर्जा सुरक्षित गर्न सेयर नै धितो राखिन्छ । गाडी खरिद गर्नका लागि लिइने कर्जाका लागि गाडी र सुन कर्जाका लागि सुन नै धितो राखिन्छ । त्यसैगरी घर कर्जाका लागि घरजग्गा धितो राखिन्छ । त्यही सम्पत्तिको मूल्यका आधारमा बैंकहरूले कति रकम ऋण दिने भनेर मूल्याङ्कन गर्छन् ।

घरजग्गा धितोको सन्दर्भमा, बैंकहरूले धितो मूल्याङ्कनका लागि इन्जिनियर नियुक्त गरेका हुन्छन् । इन्जिनियर र बैंकका कर्मचारी फिल्ड/साइटमा पुगेर घरजग्गा नापजाँच गरी बजार मूल्य बुझ्छन् र सरकारी मूल्याङ्कनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतको आधारबाट फेयर मार्केट भ्यालु निकाल्छन् । सोही फेयर मार्केट भ्यालुको ५० देखि ७० प्रतिशत रकम ऋण प्रवाह हुन्छ । यसमा बैंकले कुनै हस्तक्षेप गर्न पाउँदैनन् ।

यसमा बैंकको नीति फरक परक हुन सक्छ । कतिपय बैंकहरूले १०–९० प्रतिशतलाई आधार बनाएर औसत मूल्याङ्कन गर्छन् । घरजग्गाको मूल्याङ्कन गर्दा चलनचल्तीको भाउलाई बढी हेरिन्छ । 

यदि प्रपर्टीको सरकारी मूल्याङ्कन ३० लाख र चलनचल्तीको मूल्य १ करोड रुपैयाँ छ भने सरकारी मूल्याङ्कनको ३० प्रतिशतले ९ लाख रुपैयाँ र चलनचल्तीको मूल्यमा ७० प्रतिशतले ७० लाख रुपैयाँ हुन आउँछ । यो चलनचल्तीको मूल्य र सरकारी मूल्यलाई जोडेर फेयर मार्केट भ्यालु निकालिन्छ । अर्थात फेयर मार्केट भ्यालु ९ लाखमा ७० लाख जोडेर आएको रकम अर्थात् ७९ लाख रुपैयाँ हुन आउँछ । जसबाट नै ग्राहकले ५० देखि ७० प्रतिशतसम्म घरकर्जा पाउँछन् । 

घर निर्माणको लागि भने केहि फरक नीति छ । घर निर्माण गर्न ऋण लिन परेमा घर बनाउन लागेको जग्गाको फेयर मार्केट भ्यालु (जुन माथिअनुसार मूल्याङ्कन गरिन्छ) र बनाउन लागेको घरको इस्टिमेटेड लागत (घरको डिजाइन अनुसार इन्जिनियरले निकालेका घर निर्माण लागत) लाई जोडेर धितोका रुपमा राखी ऋण उपलब्ध गराइन्छ । घरको डिजाइन नक्सा सम्बन्धित नगरपालिकाको वडा कार्यालयबाट स्वीकृत भएको हुनुपर्छ । 

मानौं, जग्गाको अनुमानित मूल्य ७९ लाख रुपैयाँ हो भने घर बनाउन १ करोड लाग्न सक्छ । अब धितोका रुपमा १ करोड ७९ लाख रुपैयाँ राख्न सकिन्छ । सोही रकमको ५० देखि ७० प्रतिशतसम्म कर्जा बैंकहरूले ग्राहकलाई उपलब्ध गराउँछन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It