Market

विराटनगरमा मापदण्ड विपरीत घर बनाउने र सार्ने क्रम बढ्दै

Pinterest LinkedIn Tumblr

काठमाडौं । विराटनगरमा मापदण्ड विपरीतका घरहरू बनाउने क्रम बढेको छ । सडक नजिक पर्ने र डुबानको समस्या भएका घरहरू भवन निर्माण मापदण्ड विपरीत लिफ्टिङ प्रविधिको प्रयोग गरी घरहरू बनाउने काम भइरहेका छन् ।

यसरी भवन निर्माण मापदण्ड विपरीत काम भइरकाले सुरक्षाका विषयमा भने गम्भीर आशङ्का उत्पन्न भइरहेको छ । 

लिफ्टिङ प्रविधिः पक्की घरलाई माथि उचालेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने प्रविधि हो ।

राष्ट्रिय भवन आचारसंहिता, भवन ऐन र सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशिकामा पनि नयाँ अभ्यासका रूपमा देखिएको ‘लिफ्टिङ–सिफ्टिङ’ प्रविधिका बारेमा कुनै मापदण्ड नभएको विराटनगर महानगरपालिकाले जनाएको छ । 

जमिनमुनि खाल्डो खनेर बसालिएको जग निकाल्दा असुरक्षाका प्रश्न खडा हुनु स्वाभाविक रहेको नगलपालिकाको भनाइ छ ।

महानगरपालिकाले त्यसबारेमा महानगरका घर नक्सा र योजना महाशाखाका प्राविधिकसँग समन्वय गरेर छलफल भइरहेको बताएको छ ।

फलामका जग प्रयोग गरी भारतीय एलबिएल हाउस लिफ्टिङ कम्पनीले विराटनगरका केही घर तथा कार्यालय सार्ने काम गरिरहेको छ । घर भत्काएर पुनः नयाँ बनाउँदा धेरै खर्च लाग्ने हुँदा तुलनात्मक रुपमा लिफ्टिङ विधि कम खर्चिलो भएकाले यस्तो प्रवृत्ति बढ्न थालेको हो ।

निर्माण कम्पनीले भने घर उठाउँदा वा सार्दैमा कमजोर नहुने र भविष्यमा पनि सुरक्षित नै हुने दाबी गर्दै आएको छ । नयाँ जग निर्माण गरेर जगमाथि नै घर राखिने भएका कारण भूकम्प प्रतिरोधात्मक अनि सुरक्षित हुने कम्पनीको दाबी छ ।

यो पनि पढ्नुहोस्: सडकभन्दा तल परेको दुईतले घर उचालेर जग थपियो

औद्योगिक नगरी विराटनगरको बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । यसो हुँदा बर्षातमा आकासे पानीले निकास नपाउँदा महानगरभित्रका पुराना घरको भुइँतला डुब्ने गरेका छन् । त्यसबाहेक कतिपय घर बेला–बेलामा हुने सडक विस्तारबाट प्रभावित बनेका पनि छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It