Lifestyle

लामखुट्टे भगाउने ८ घरेलु उपाय, रासायनिक विषादीबाट छुटकारा 

Pinterest LinkedIn Tumblr

 सुन्नुहोस्ः

 

काठमाडौं । गर्मीको याम चलिरहेको छ । लामखुट्टे, झिँगा लगायतका परजीवी कीरा स्वभाविक रुपमा फैलिरहेका छन् । कोरोनाको महामारीबाट छुटकारा नमिल्दै डेंगुको सङ्क्रमणले जनमानसलाई आक्रान्त पारेको छ । जलवायु परिवर्तनका कारण अतिकम तापक्रम भएका ठाउँहरूमा पनि अत्यधिक गर्मी हुन थालेको छ । यससँगै गर्मीमा फैलिने परजीवी र रोग ब्याधीको भय पनि उत्तिकै मात्रामा बढ्दो छ । 

हाल काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा डेंगुको सङ्क्रमण बढिरहेको छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्दा करिब २८०० सङ्ख्यामा प्रभावित भएका छन् । यसबाट बच्नका लागि बेलैमा आवश्यक सतर्कता अपनाउन आवश्यक छ । विश्वका विभिन्न ठाउँमा ३५ सयभन्दा बढि प्रजातिका लामखुट्टे पाइन्छन् । कतिपय लामखुट्टेले मानिस तथा अन्य जीवको रगत चुस्ने र विभिन्न रोग सार्ने गर्दछन् ।

कुनै लामखुट्टे रातमा सक्रिय हुन्छन् त कुनै दिनमा । रोचक कुरा के छ भने पोथी लामखुट्टेले मात्र मानिसको रगत चुस्दछ र रगतकै पोषणका सहयोगमा उसले अण्डा पार्न सक्दछ । भाले लामखुट्टेले बाँच्नका लागि फलफुल तथा फूलहरूको रस खाने गर्दछ

डेंगु कसरी फैलन्छ?

Mosquito bites

‘एडिस एजिप्टाईएडिस अल्बोपिक्टस ’ नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । यो लामखुट्टे मनसुन सकिने समयतिर बढी सक्रिय हुन्छ । विशेषगरी पानी अडिने तथा जम्ने ठाउँ, प्लास्टिकका बोतल, कुलर जस्ता स्थानमा यी लामखुट्टे फैलिन्छन् । 

लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट शरीरभरि संक्रमण फैलिन्छ । र यसको असर कलेजो र दिमागमा समेत पर्दछ । डेंगुको सङ्क्रमणले शरीरको तापक्रम बढ्ने तथा ज्वरो आउने, टाउको दुख्ने, आँखाको नानी, ढाड तथा शरीरका विभिन्न भाग; घुँडाका जोर्नी, पिँडौलाको मासु दुख्ने आदि हुन्छ । डेंगू-ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

झट्ट हेर्दा कालो रङको देखिने यो लामखुट्टेको शरीरमा सेतो रङको छिर्का हुन्छ । यसले मानिसलाई मात्र नभई जनावर तथा चराचुरुङ्गीलाई पनि टोक्छ ।

यसले देखिने छालाको कुनै भागमा पनि टोक्न सक्छ । घरभित्र र बाहिर यसको जोखिम हुन्छ । पोथी भन्दा भाले लामखुट्टे करिब २० प्रतिशत साना हुन्छन् । तर हेर्दा उस्तैउस्तै देखिन्छन् । लामखुट्टेको सरदर आयु ३ हप्ताको हुन्छ । 

डेंगुका लक्षणहरूः

अचानक उच्च ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । यसका साथै निम्न लक्षणहरू देखापर्छन्

  • असाध्यै टाउको दुख्ने,
  • आँखाको नानी तथा आँखाको पछिल्लो भाग दुख्ने,
  • ढाड, जोर्नी तथा मांसपेशी दुख्ने,
  • शरीरमा बिबिरा आउने,
  • वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, 
  • नाक वा गिजाबाट रगत बग्ने, 
  • रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, 
  • बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ ।

लामखुट्टे भगाउने घरेलु उपायहरू 

कागती तथा नीलगिरीको तेल: भिटामीन ‘सि’ युक्त कागती स्वास्थको लागि निकै लाभदायिक मानिन्छ । मस्किटो रेपेलेट (Mosquito repellent) मा लिक्विड सकिएपछि कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा  लगाउँदा पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । 

नीम र नरिवलको तेलः एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्दछ ।

कपूरः लामखुट्टेले कपुरको सुगन्ध सहन सक्दैन । कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्दा लामखुट्टे भाग्छ । मट्टितेल, नीमको तेल, कपूर मिलाएर बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।

लसुनः लसुनलाई पिसेर पानिमा मिलाएर छर्कदा लामखुट्टे लसुनको गन्धबाट टाढा भाग्दछ । लसुनको रस शरीरमा लगाउन पनि सकिन्छ ।

पुदिनाः पुदिना पात पिसेर रस छर्किदा पनि लामखुट्टे भाग्दछ । पुदिनाको रसलाई शरीरमा पनि लगाउन सकिन्छ । 

सयपत्री फूलः सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।

तुलसीको पातको रसः तुलसीलाई लामखुट्टेको शत्रुको रुपमा लिइन्छ । तुलसीको गन्धले पनि लामखुट्टे भाग्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । 

ल्वाङ र कागतीः कागतीलाई बीचमा काटेर त्यसभित्र ७/८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरूमा राखेमा यसले लामखुट्टे भगाउँछ । ७/८ वटा ल्वाङ र लसुनका ४/५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने । त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन् ।

mosquito

अन्त्यमा, लामखुट्टे तथा यसबाट सर्ने रोगबाट बच्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ । जसले संक्रमण हुनबाट जोगाउँदछ । माथि उल्लिखित उपाय बाहेकका केही वैकल्पिक विधिहरू प्रचलित छन् । झुल लगाउने, केमिकलयुक्त औषधी प्रयोग गरेर पनि बच्न सकिन्छ । बजारमा लामखुट्टे मार्ने धुप र ‘लिक्विड’ जस्ता रासायनिक औषधीहरू पनि पाइन्छ, जुन तत्कालका लागि प्रभावकारी भएता पनि स्वास्थ्यका लागि निकै हानिकारक छ । रासायनिक धूपमा भएको ‘रेपेलेन्ट’ मानिसको स्वास्थ्य प्रतिकूल हुन्छ । दैनिक सात घन्टाभन्दा बढि यस्तो धूपमा बस्दा श्वासप्रश्वासको माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । नीमको तेल बाल्ने, कोठामा कपुर जलाउने, लेमन ग्रासको पात जलाएर पनि लामखुट्टे भगाउन सकिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It