काठमाडौं । प्राचीन कालदेखि मठ मन्दिर आदि धार्मिक सम्पदाको नाममा दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्ति गुठी हो । हिजोआज प्राचिन समयमा मन्दिर, धर्मशाला, पूजापाठ र धार्मिक कार्यक्रमहरूका लागि हक दिइएका कतिपय गुठीका जग्गाको भोगचलन, किनबेच हुन थालेको छ । यस्तोमा कस्ता गुठीका जग्गा किनबेच हुन्छ भन्ने विषयमा धेरैलाई अन्योल हुन्छ । यस लेखमा गुठी जग्गासम्बन्धी यिनै प्रश्नहरूको जवाफ खोजौं ।
गुठीको जग्गा के हो ?
गुठी जग्गा भन्नाले पूर्वजहरूले धार्मिक वा परोपकारी उद्देश्यले मन्दिर, पूजा–पाठ, धर्मशाला, जात्रा वा अन्य धार्मिक कार्यहरू सञ्चालन गर्न दानस्वरूप छुट्याइएको पुग्ने चल अचल सम्पत्ति हो । यस्तो जग्गा गुठीयार (जसले गुठीको व्यवस्थापन गर्छ) वा गुठी संस्थानको नाममा दर्ता हुन्छ, र यसको प्रयोग मूलतः सामाजिक वा धार्मिक हितमा केन्द्रित हुन्छ ।
कस्ता किसिमका गुठीको जग्गा किनबेच गर्न पाइन्छ ?
सामान्य अवस्थामा गुठी जग्गाको किनबेच पाईंदैन । तर, यदि मोहीले लामो समयदेखि भोगचलन गर्दै आएको गुठी जग्गामा मोहियानी हक प्रमाणित गरिसकेको छ भने, गुठी संस्थान ऐन अनुसार तोकिएको प्रक्रिया पूरा गरी यस्तो जग्गा बिक्री गर्न सकिने कानुनी व्यवस्था छ । मोहियानी हक प्राप्त भएपछि उक्त गुठी जग्गा मोहीको नाममा व्यक्तिगत स्वामित्वको रूपमा लिने अधिकार हुन्छ । त्यस्तो जग्गा किनबेच गर्न सकिन्छ ।
मोहियानी हक भनेको के हो ? (H3)
मोहियानी हक भन्नाले कुनै व्यक्तिले अरूको (जग्गावालाको) जग्गा जोतभोग (खेती) गर्दै आएको आधारमा प्राप्त हुने कानुनी अधिकार हो । नेपालमा भूमि सम्बन्धी ऐन, २०२१ अनुसार, कुनै किसानले जग्गावालको जग्गा कमाएर मुख्य एक बालीको कुत बुझाएमा उसले मोहियानी हक पाउने व्यवस्था छ । यसले मोही (जोताहा किसान) लाई त्यस जग्गामा स्थायी रूपमा खेती गर्ने, बसोबास गर्ने, र कतिपय अवस्थामा नामसारी (नाममा दर्ता) गर्ने अधिकार दिन्छ ।
गुठीको जग्गामा घर बनाउन मिल्छ ?
गुठीको जग्गामा घर, टहरा वा अन्य संरचना बनाउन सकिन्छ । तर यसका लागि केही कानुनी प्रक्रिया पालना गर्नुपर्छ । मोहीले गुठी संस्थानको स्वीकृति लिई तोकिएको दस्तुर तिरेर सम्बन्धित स्थानीय निकायमा नक्सा पास गराउनुपर्छ । त्यसपछि मात्र गुठी जग्गामा कानुनी रूपमा संरचना निर्माण गर्न सकिन्छ ।
गुठीको जग्गा धितो राखेर कर्जा लिन पाइन्छ ?
गुठीको जग्गालाई बैंक वा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पाइन्छ । यद्यपि गुठी रैकर जग्गामा मोहियानी हक प्रमाणित भइसकेको खण्डमा जग्गाको प्रकार(गुठी रैकर र रैतान नम्बरी गुठी) अनुसार बैंकले दिने कर्जामा केही अन्तर भने पर्न सक्छ । साथै, यस्तो जग्गाको मूल्याङ्कन सामान्य निजी जग्गाको तुलनामा केही कम हुन्छ । रैतान नम्बरी गुठी जग्गाको हकमा भने बैंकको मूल्याङ्कन सामान्य निजी जग्गाको सरह नै हुने गर्दछ ।
करको दायरा
मोहियानी हक प्रमाणित भइसकेको गुठी जग्गाको कर गुठी संस्थानलाई नै बुझाउनुपर्ने व्यवस्था छ । त्यसैले यस्ता जग्गा खरिद वा प्रयोग गर्दा लाग्ने वार्षिक कर मोही वा जग्गा हकवालाले गुठी संस्थानमा गएर बुझाउनुपर्छ ।
लगानीका लागि उपयुक्त घर तथा जग्गाहरू खोज्नका लागि Basobaas.com भिजिट गर्नुहोला ।