News

सरकारी जग्गा हडप्ने माओवादी नेता पूरीविरुद्ध  १५ करोड बिगो माग

Pinterest LinkedIn Tumblr

काठमाडौं । झापाको बालुवाटारमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपनी खोला किनारस्थित ७८२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । 

अख्तियारले हालसाबिक प्रक्रियाबाट सरकारी जग्गा आफ्नो नाममा सारेको मुद्दामा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतराज पुरीविरुद्ध पनि मुद्दा चलाएको हो ।

धेरै कर्मचारी, जग्गाधनी र विचौलिया हालसाबिक र स्ववासी दर्ता प्रक्रियाबाट सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा मुछिएका कारण दोहोरो मुद्दा खेपेका छन् । आरोपहरूमाथि २५ हजारदेखि ३० करोड रुपैयाँसम्म बिगो मागदाबी छ । जग्गाको क्षेत्रफल धेरै भएपनि सरकारी दररेटमा कम मूल्यांकन भएकाले भ्रष्टाचारको बिगो कम भएको हो  । 

नामसारी प्रकृया र संलग्नहरूः

स्ववासी र हालसाबिक दर्ता प्रक्रियाबाट जम्मा ७८२ रोपनी ३ पैसा २ दाम जग्गा व्यक्तिको नाममा नामसारी भएको अख्तियारको दाबी छ । 

जसमा स्ववासी दर्ता प्रक्रियाबाट ३८४ रोपनी ८ आना १ दाम जग्गा नामसारी गरिएको छ । यसमा ४१ करोड ६२ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ । अख्तियारले २०२१ सालसम्म सरकारी रहेको जग्गा पुनः नापीका बखत स्ववासी दर्ता प्रक्रियाबाट व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा ९ जना कर्मचारी, ६५ जना जग्गा अतिक्रमणकारी र जग्गा किन्ने ११३ जना गरी १८७ जनालाई प्रतिवादी बनाएको छ । 

हालसाबिक दर्ता प्रक्रियाबाट ३९७ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा नामसारी गरिएको छ । अख्तियारले हालसाबिकको जग्गा नामसारी गरेकामा जग्गाको मूल्य ३४ करोड ६६ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यस प्रकरणमा नापी कार्यालय चन्द्रगढीका १०, मालपोत कार्यालय दमकका ११ र नापी कार्यालय दमकका ७ जना कर्मचारी गरी २८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यस्तै; ३६ जना जग्गा अतिक्रमणकारी र १०८ जना जग्गाधनी गरी १७२ जनालाई प्रतिवादी बनाइएको छ ।  

स्ववासी र हालसाबिकको प्रक्रियाबाट सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको देखिएकाले दुई फरक भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ । 

सरकारी जग्गा व्यक्तिका नाममा कसरी नामसारी गरियो ?

दमकमा रतुवा खोलाले धार परिवर्तन गर्दा २०३८ सालमा बालुवाको थुप्रो सहित टार बनेको थियो । त्यतिबेला त्यहाँ रहेको सुकुम्बासी बस्ती विस्थापित भएको थियो । पछि रतुवा खोलामा तटबन्ध गरियो । 

grabbing

रतुवालाई फर्काएपछि निस्किएको जग्गा पहिले बसोबास गरेका सुकुम्बासीको नाममा पहुँचवालाले पनि दर्ता गरेका थिए । कतिपयले भने हालसाबिक गर्ने नाममा जग्गा दर्ता गरेका थिए ।

जग्गाको भौगोलिक अवस्था, खोला र नदीको बहाव परिवर्तन, पहिरो लगायतका कारण जग्गाको स्वरूपमा केही परिवर्तन भएको हुनसक्छ । त्यस्ता अवस्थामा व्यक्तिले भोगचलन गरिरहेको जग्गालाई हालसाबिक गरेर दर्ता गरिन्छ । यिनै दुई प्रक्रियाको दुरुपयोग गरी करिव ८ सय रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको अख्तियारको दाबी छ ।

२०७६ माघमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले रतुवा खोला किनाराको जग्गा अतिक्रमणबारे छानबिन गरेको थियो । सीआईबीकै प्रतिवेदनमा आधारित भएर जिल्ला प्रहरी कार्यालय झापाले पुरी लगायतका समूह विरुद्ध किर्ते मुद्दा दर्ता गरेको थियो । जुन हाल पनि जिल्ला अदालतमा नै विचाराधीन छ । 

माओवादी नेता पुरीविरुद्ध १५ करोड माथिको विगो मागः

माओवादी केन्द्रका नेता गगन पुरीले नापी कार्यालय चन्द्रगढीको नापी टोलीबाट हालसाबिक दर्ता सरकारी जग्गा आफ्नो जग्गामा घुसाएको अख्तियारको भनाइ छ । अख्तियारले हालसाबिक जग्गा प्रक्रियाबाट पुरीले आफ्नो नाममा गरेको जग्गावापत ६ करोड २ लाख ७० हजार रुपैयाँ र स्ववासी दर्ता प्रक्रियाबाट गरेको जग्गा नामसारी बापत ३ करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ बिगो माग गरिएको छ ।

त्यस्तै पुरीकी पत्नी केशावती विरुद्ध हालसाबिक जग्गा प्रक्रियाबाट गरेको जग्गा नामसारी बापत ८४ लाख ८९ हजार रुपैयाँ र स्ववासी दर्ता प्रक्रियाबाट गरेको जग्गा नामसारी बापत ५ करोड ६२ लाख ५० हजार ८४० रुपैयाँ बिगो माग गरिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It