Market

जेन-जी आन्दोलनको असर: भदौंमा घरजग्गा कारोबार खस्कियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को भदौमा घर जग्गा कारोबारमा थप गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा देशभरबाट २७ हजार ४९४ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । गत साउनमा लिखत पारित संख्या ३१ हजार ६२१ वटा थियो । 

गत आवको भदौमा भने ३२ हजार ७९८ संख्यामा लिखत पारित भएका थिए । यसले घर जग्गा कारोबार खस्किएको देखिन्छ । चालु आवको सुरुदेखि नै घरजग्गा कारोबार न्यून थियो । भदौमा त्यस्तो कारोबार थप घटेको तथ्यांकले पुष्टी गरेको छ । 

जेन-जी आन्दोलनको प्रत्यक्ष असर

कारोबार घट्नुमा सत्ता नै ढाल्ने गरी भदौ २३ र २४ गते काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा  भएको जेन्जी आन्दोलन प्रमुख कारण बनेको छ । आन्दोलनका क्रममा मालपोत, नापी, भू–सुधार आयोग र वडा कार्यालयहरूमा तोडफोड तथा आगजनी भएपछि सरकारी सेवा झण्डै एक हप्ता ठप्प रह्यो । 

त्यसयता पनि कार्यालयहरू पूर्ण रुपमा सञ्चालन हुन नसकेकाले लगानीकर्तामा अनिश्चितता बढेको छ । आन्दोलनले राजनीतिक अस्थिरता मात्र होइन, सम्पूर्ण आर्थिक क्रियाकलापमा नै अवरोध ल्याएको संकेत दियो ।

उपत्यका भित्रको घरजग्गा कारोबारः

भदौंभर काठमाडौं उपत्यकामा जम्मा ३ हजार २५६ वटा घरजग्गाको कारोबार भएको छ । भदौमा भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै ९१८ वटा र गोटीखेल मालपोत कार्यालयबाट सबैभन्दा कम ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ ।

यी हुन् धेरै कारोबार भएका चार क्षेत्र


तथ्यांकअनुसार भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । इनरुवाबाट १ हजार ४०२ वटा घरजग्गाको लिखित पारित भएको देखिन्छ । 

दोस्रो स्थानमा धनुषाको जनकपुरधाम मालपोत कार्यलय रहेको छ । जनकपुरबाट १ हजार ६० वटा यस्तो कारोबार भएको छ । 

राजस्व संकलनको अवस्था

भदौं महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । गत आवको भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार रुपियाँ राजस्व संकलन भएको थियो ।

भदौंमा देशभरबाट धेरै राजस्व संकलन गर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर रहेको छ । लगनखेलबाट ३५ करोड २३ लाख ७५ हजार ६ सय ७० रुपैयाँ रुपियाँ राजस्व संकलन भयो । भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दिवासबाट ४५ हजार ६ यस रुपैयाँ संकलन भयो । 

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बजारको आगामी संकेत

रियल इस्टेट बजार छोटो समयमै पुनर्जीवित हुने अवस्था नदेखिएको घरजग्गामा कारोबारमा सक्रिय व्यवसायीहरूको भनाइ छ । 

नयाँ सरकार नबन्नु र नीतिगत अस्थिरताका कारण लगानीकर्ताले पर्ख र हेरको रणनीति लिने सम्भावना बढेको छ । यसले बजारमा सामान्य चहलपहल आउन अझ समय लाग्ने नेपाल रियल स्टेट अर्गनाइजेसन ‘एनरियो’का सचिव हमिद खानले बताए । अब तत्काल आवश्यकता भएका खरिदकर्ताले मात्रै बजारमा सक्रियता देखाउने, लगानी गर्न खोज्ने लगानीकर्ता पछाडि हट्ने स्थिति आउने अनुमान छ । अहिलेको अवस्थामा बजार कस्तो अवस्थामा अघि बढ्ला भनेर एकिन गर्न सक्ने अवस्था नरहेको खानको भनाइ छ । 

दीर्घकालीन दृष्टिकोण भने राजनीतिक स्थिरता फर्केपछि निर्माण गतिविधि तीव्र हुने, आवासीय र व्यावसायिक संरचना बन्ने र त्यससँगै निर्माण सामग्रीको माग बढ्ने देखिन्छ । यो चक्रले बजारलाई पुनः सशक्त बनाउने अनुमान लगाउन सकिने व्यवसायीहरूको भनाइ छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It